Kathmandu Press

वन अधिकृत श्रेष्ठमाथि १ करोड ४३ लाख भ्रष्टाचारको अभियोग 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानपछि श्रेष्ठले गैरकानूनी सम्पत्ति आर्जन गरेको पुष्टी भएको भन्दै सोमबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको हो। 
वन अधिकृत श्रेष्ठमाथि १ करोड ४३ लाख भ्रष्टाचारको अभियोग 

काठमाडौं, कात्तिक १७ : डिभिजन वन कार्यालय भोजपुरमा कार्यरत डिभिजनल वन अधिकृत दानबहादुर श्रेष्ठविरुद्ध एक करोड ४३ लाख रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरिएको छ। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानपछि श्रेष्ठले गैरकानूनी सम्पत्ति आर्जन गरेको पुष्टी भएको भन्दै सोमबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको हो। 

२०४८ साल असार २६ गते सेवा प्रवेश गरेका श्रेष्ठले २०८० साल फागुन १६ गतेसम्मको सेवा अवधिमा उक्त भ्रष्टाचार गरेको दाबी अख्तियारको छ। उनले आफ्नो पारिवारिक सदस्यहरूसहित वैधानिक आम्दानी र प्रमाणित खर्चको तुलनामा एक करोड ४३ लाख १८ हजार ९३७ रुपियाँ ५२ पैसा बराबरको स्रोत नखुलेको सम्पत्ति आर्जन गरेको अनुसन्धानबाट खुल्न आएको अख्तियारले जनाएको छ।

अनुसन्धानका क्रममा श्रेष्ठले पेस गरेको सम्पत्ति विवरणमा देखिएका तलब–भत्ता, पारिवारिक आय, जग्गा बिक्री, व्याज, शेयर, कृषिलगायतका वैधानिक आयहरूको तुलना गर्दा उक्त रकम अस्वाभाविक रूपमा बढी पाइएको छ। 

आयोगले साविक भ्रष्टाचार निवारण ऐन, २०१७ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम गैरकानूनी रूपमा आर्जन गरिएको सम्पत्ति जफत गरी असुल र कैद, जरिवाना माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो।

अख्तियारले श्रेष्ठको पत्नी नरमाया श्रेष्ठ, बुहारी भावना बरुवाल र भावना बरुवाल सञ्चालक रहेको ‘फरेस्ट एन्ड इनभाइरोमेन्ट रिसर्च अर्गनाइजेशन प्रा.लि.’, भक्तपुरको नाममा खरिद र लगानी गरिएका सम्पत्तिहरूसमेत जफत गर्न मागदाबी लिएको छ। 
श्रेष्ठले आफ्नो वार्षिक सम्पत्ति विवरण फारममा वास्तविक सम्पत्ति लुकाएको पाइएको दाबीसहित झुठा विवरण पेस गरेको दाबी पनि आरोपपत्रमा गरेको छ। 

प्रकाशित मिति: १४:१८ बजे, सोमबार, कात्तिक १७, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्