बुढानिलकण्ठ नगरपालिका कपनको तेन्जिङ चोक सिल गर्ने तयारी
काठमाडौं, जेठ ४ : बुढानिलकण्ठ नगरपालिका १० कपनको तेन्जिङ चोककी १८ वर्षीया युवतीका कोरोना पोजेटिभ देखिएकापछि उक्त क्षेत्र सिल गर्ने तयारी गरिएको छ....

काठमाडौं, जेठ ४ : बुढानिलकण्ठ नगरपालिका १० कपनको तेन्जिङ चोककी १८ वर्षीया युवतीका कोरोना पोजेटिभ देखिएकापछि उक्त क्षेत्र सिल गर्ने तयारी गरिएको छ।
सर्लाहीको रामनगर स्थायी घर भई हाल कपन बसोबास गर्दै आएकी उक्त युवतीमा कोभिड–१९ पोजेटिभ देखिएपछि युवती बसोबास गर्ने क्षेत्रदेखि १५० मिटर वरपर सिल गरिएको बूढानीलकण्ड नगरपालिकाका प्रवक्ता नवराज भट्टराईले जानकारी दिए।
पीसीआर परीक्षण पोजेटिभ आएसँगै युवतीलाई शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुको आइसोलेशनमा राखिएको छ। युवतीका आमा र भाइको रिपोर्ट भने नेगेटिभ आएको छ। युवतीको परिवारले कपनमा फर्निचर व्यवसाय गर्दै आएका थिए।
युवतीको रिपोर्टमा पोजेटिभ आएपछि थप सतर्कता अपनाउनका लागि वडा सिल गर्ने तयारी रहेको प्रवक्ता भट्टराईले बताए। भट्टराईका अनुसार, 'आज ३ बजे बस्ने नगरपालिकाको बैठकले अब कसरी जाने भन्ने निर्णय गर्नेछ। यसका लागि थप सुरक्षा अपनाउन वडा सिल पनि गर्न सकिनेछ।'
उक्त क्षेत्रमा एक टोलबाट अर्को टोलमा हुने आवतजावत रोक्नका लागि प्रहरी र स्वयंसेवक परिचालन गरिएको छ।











