Kathmandu Press

मिनेन्द्र रिजालले भने- प्रधानमन्त्रीज्यू ज्ञानी बन्नुहोस्, नीति तथा कार्यक्रम पुनर्लेखन गर्नुहोस्

काठमाडौं, जेठ ४ः सरकारले शुक्रबार प्रस्तुत गरेको नीति तथा कार्यक्रम संशोधन गर्न माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका तर्फबाट सांसद मिनेन्द....

मिनेन्द्र रिजालले भने- प्रधानमन्त्रीज्यू ज्ञानी बन्नुहोस्, नीति तथा कार्यक्रम पुनर्लेखन गर्नुहोस्

काठमाडौं, जेठ ४ः सरकारले शुक्रबार प्रस्तुत गरेको नीति तथा कार्यक्रम संशोधन गर्न माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका तर्फबाट सांसद मिनेन्द्र रिजालले पुनर्लेखनको माग गरेका छन्।

आइतबारको प्रतिनिधिसभाको बैठकमा रिजालले नीति तथा कार्यक्रमको बुँदा १ देखि २७६ सम्म काम नलाग्ने भएको भन्दै उनले पुनर्लेखन गर्न माग गरेका हुन्। 

उनले मुलुकलाई कोरोना कहरबाट बाहिर निकाल्ने योजना नीति तथा कार्यक्रममा नरहेको बताए। उनले सरकारले पत्रकार र सञ्चार गृहलाई मर्यादित बनाउने बुँदा नीति तथा कार्यक्रममा उल्लेख गरेको भन्दै आपत्ति समेत जनाए। ‘सरकार मर्यादित होस्, अनुसाशित होस्। पत्रकारको चिन्ता गर्नुपर्दैन,’ उनले भने।

उनले मुलुक इतिहासकै सबैभन्दा कठिन अवस्थामा रहेको भन्दै यसबारे गम्भीर भएर सोच्नुपर्ने बेला १० वर्षे योजना नीति कार्यक्रममा समावेश गरेकाे बताए। ‘इतिहासकै सबैभन्दा कठिन चुनौतीमा छौं। विध्वंशकारी स्वास्थ्य चुनौतीमा छौं। २०२९ को भयानाक विश्वव्यापी मन्दी भन्दा गहिरो संकटमा छौं,’ उनले भने, ‘ संकट गहिरिए त्यो भन्दा खतरनाक मन्दीमा जान सक्छौं। विश्वको जिडिपीमा ६० देखि ९० खर्ब डलर अर्थात संकुचन हुन सक्छ भन्ने अनुमान छ। ३० करोड भन्दा बढीको रोजगारी कटौती हुन सक्छ भन्ने आँकलन छ। थप १० करोड मानिस चरम गरिबीको रेखा मुनी जान सक्छ। संकट गहिरियो भने त्यो संख्या ५० करोड भन्दा बढी जान सक्छ भन्ने आँकलन छ।’

उनले भोकमरी दोब्बर हुने, विश्वभर अनौपचारिक क्षेत्रमा काम गर्ने १ अर्ब ६० करोड मानिस समस्यामा रहने बताए। नेपालमा समेत गरिबी चरम हुने उनको भनाइ छ। ‘नेपालको अनुमान भन्दा १ सय ६० अर्ब कुल जिडीपीको आकार सानो हुनेछ। १४० अर्ब रेमिट्यान्स कम हुनेछ। गत वर्ष भन्दा ३ खर्ब कम खर्च गर्ने अवस्था हुनेछ। त्यो भनेको प्रतिव्यक्ति वार्षिक १० हजार खर्च गर्न सक्ने क्षमता कम हुनु हो,’ उनले भने, ‘तर सरकारी दस्तावेज कमजोर छ। यसले चुनौती स्वीकार गर्न सकेको देखिएन।’

उनले कोरोनाका कारणले प्रभावित बनेका सबै क्षेत्रका समस्यालाई नीति कार्यक्रमले सम्बोधन गर्न नसकेको बताए। ‘हामीले उद्धार र राहतको कार्यक्रम ल्याउनुपर्छ। तर, यसमा सरकार संवेदनशिल देखिएन। यस्तो बेला तीन घण्टा लगाएर नीति तथा कार्यक्रम पढेर संवेदनहिनता देखियो,’ उनले भने, ‘सीमा विवाद चर्किएका बेला, भारतले भूमि अतिक्रमण गरेका बेला नक्सा सार्वजनिक गर्ने भनिएको छ। सरकारले कागजको नक्सामा मात्रै सीमा फर्काएँछ। साँच्चै चाहिँ फर्काउदैन।’ उनले सरकारको नीति तथा कार्यक्रम केही अघिल्लो वर्षको जस्तै र केही दुरुस्तै भएको उनको भनाइ छ। 

उनले सरकार १० वर्षमा कृषि उत्पादकत्वको दोब्बरले बढाउने रेल, पानीजहाजको कुरा गर्ने र २०९९ मा समुन्नत राष्ट्र बन्ने भनेको तर, जनता अहातमा रहेका बेला सम्बोधन गर्ने कार्यक्रम नआएको बताए। 

उनले संकटबाट माथि उक्सने स्पष्ट कार्यक्रम ल्याउन माग गरे। यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले अरुलाई दोष पन्छाएर आफु उम्कन खोजेको भन्दै त्यसो नगर्न आग्रह गरे।

‘तपाई मात्रै बिग्रने र तपाईको पार्टी मात्रै बिग्रने भए चिन्ता थिएन। तर, कोरोना कहरबाट उम्कन कठिनाइ हुन्छ। प्रधानमन्त्री ज्ञानी बन्नुस्,’ उनले भने, ‘जनताको विवकेको अपमान नगर्नुस्। हिजोका योजना सबै बिर्सेर उद्धार, राहतमा केन्द्रीत हौं। विदेशमा रहेका नागरिकलाई ल्याउन के गर्ने? त्यता सोचौं। सबै क्षेत्रका समस्यालाई कसरी सम्बोधन गर्न सकिन्छ, ध्यान केन्द्रीत गरौं।’

प्रकाशित मिति: १२:३३ बजे, आइतबार, जेठ ४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्