आईसिसी विश्वकप लिग–२मा अमेरिकासँग नेपालको फराकिलो हार
युएईमा जारी सिरिजको पहिलो खेलमा बल र ब्याट दुवैमा खराब प्रदर्शन गरेपछि नेपाल अमेरिकासँग १०६ रनको फराकिलो अन्तरले पराजित भएको हो।
काठमाडौं, कात्तिक ९ : आईसिसी विश्वकप लिग–२को त्रिकोणात्मक सिरिजमा नेपालले फराकिलो हार व्यहोरोको छ। युएईमा जारी सिरिजको पहिलो खेलमा बल र ब्याट दुवैमा खराब प्रदर्शन गरेपछि नेपाल अमेरिकासँग १०६ रनको फराकिलो अन्तरले पराजित भएको हो।
पहिला ब्याटिङ गर्दै अमेरिकाले दिएको २६३ रनको मध्यम लक्ष्य पछ्याएको नेपाल ३९.१ ओभरमा १५६ रनमै अलआउट भयो। नेपालका लागि अन्तिम ब्याट्सम्यानका रुपमा आउट भएका दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ४० रन बनाए। उनले ६० बलमा ३ चौका प्रहार गरे।
यस्तै, आसिफ सेखले ३७, भीम सार्कीले २९ र आसिफ सेखले २० रन बनाउनु बाहेक अन्यले गतिलो योगदान दिन सकेनन्।
नेपाललाई सस्तैमा समेट्ने क्रममा अमेरिकाका हर्मित सिंहले ८.१ ओभरमा १ मेनडसहित २७ रन खर्चेर ६ विकेट लिए भने डेब्यू खेलाडी सुभम रन्जाने २ तथा रुसिल उग्रकरले १ विकेट लिए।
त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको अमेरिकाले ६ विकेटको क्षतिमा २६२ रन बनायो।
उसका लागि ओपनर स्मित पटेल र मिलिन्द कुमारले अर्धशतक बनाए। पटेलले १ सय बल खेल्दै ९ चौका मद्दतमा ७५ रन बनाउँदा कुमारले ५० बल खेल्दै ६ चौका र २ छक्का मद्तमा नटआउट ७० रन बनाए।
यस्तै साइतेजा मुक्कामल्लले ५८ बल खेल्दै ३ चौका र १ छक्काको मदतमा ४२ रन बनाए। उनले पटेलसँग तेस्रो विकेटका लागि ९५ रनको उत्कृष्ट साझेदारी गरेका थिए।
सुरुआतमा राम्रो बलिङ गरेको नेपालले डेथ ओभरमा कमजोर बलिङ प्रदर्शन गरेको थियो।
४४ ओभरको समाप्तिमा १९७ रनमा रहेको अमेरिकाले अन्तिम ६ ओभरमा ६५ रन बनाएको थियो। जसमा नेपालले अन्तिम २ ओभरमा ३२ रन दिएको थियो।
बलिङमा नेपालका लागि सन्दीप लामिछानेले २ विकेट लिँदा सोमपाल कामी, आरिफ सेख, दीपेन्द्रसिंह ऐरीले समान १ विकेट लिए।












