तिहारमा उज्यालो मात्र होइन, सहकार्यको चमक
तिहारको अवसरमा यहाँका विभिन्न उमेर समूहका नागरिकले परम्परागत तथा आधुनिक दुवै शैलीमा देउसी–भैलो खेल्दै खुसी साटेका छन् । कतै परम्परागत देउसीका गीत–नृत्य गुन्जिएका छन् भने कतै आधुनिक डीजे संगीतमा युवाहरू नाचगानमा रमाएका छन्।(1)-1761116862.jpeg)
बाजुरा, कात्तिक ५ : दिपावलीको अवसरमा बाजुराको बडिमालिका नगरपालिका झिलिमिली बत्ती र देउसी–भैलोको सुरिलो स्वरले गुञ्जिएको छ । घर–घरमा दिप बालिएको छ, फुलका माला र रंगोलीले सजिएको छ, र सिंगो नगर नै उत्सवको उज्यालोमा नुहाइरहेको छ।
तिहारको अवसरमा यहाँका विभिन्न उमेर समूहका नागरिकले परम्परागत तथा आधुनिक दुवै शैलीमा देउसी–भैलो खेल्दै खुसी साटेका छन् । कतै परम्परागत देउसीका गीत–नृत्य गुन्जिएका छन् भने कतै आधुनिक डीजे संगीतमा युवाहरू नाचगानमा रमाएका छन्।
नगरका वडा नं ३ की वडा सदस्य तथा नगर कार्यपालिका सदस्य निर्मला बिक भन्छिन् ‘देउसी–भैलो हाम्रो संस्कृतिको सौन्दर्य हो । यसले परिवार र समाजलाई अझै नजिक ल्याउँछ। यसपालि पनि हाम्रा वडाका युवाहरूले देउसी खेल्दै उठाएको पैसाबाट बनभोज आयोजना गरी रमाइलो गर्दै छन्।’
महिला अधिकार मञ्चकी अध्यक्ष बिनिता रावलले देउसीको नयाँ दृष्टिकोण प्रस्तुत गरिन् । उनका अनुसार देउसी–भैलोबाट उठेको रकम केवल रमाइलोका लागि नभई सामाजिक प्रयोजनका लागि पनि प्रयोग हुँदै आएको छ।
‘पहिला देउसी खेलेर उठाएको पैसाले हामीले डीजे मेसिन खरिद गरेका थियौं । अहिले त्यो डीजे वडाभरिका विवाह तथा सार्वजनिक कार्यक्रममा भाडामा दिँदा आम्दानी समेत भइरहेको छ। यस वर्ष पनि देउसीबाट उठेको रकम सामूहिक सामग्री खरिद र सामाजिक काममा लगाइनेछ,’ उनले भनिन्।
देउसी भैलोमा सहभागी स्थानीय महिला नन्दा बिकले भने आफ्नो रमाइलो अनुभव बाँडिन्। उनका अनुसार कामकाज भए पनि तिहारको बेला ओसिँदेखि तीन दिनसम्म मिठा–मिठा परिकार बनाउने, फुलका माला बुन्ने र देउसी खेल्दै रमाउने हाम्रो परम्परा हो।
यस वर्ष बडिमालिका नगरपालिकाभर झिलिमिली बत्ती र उत्सवको उल्लास छ । देउसीभैलोमा सहभागी युवाहरूले स्थानीयतालाई जीवन्त बनाएका छन् भने अभिभावकहरू छोराछोरीसँगै देउसीमा सहभागी भएर संस्कृतिको संरक्षणमा हात मिलाइरहेका छन्।












