Kathmandu Press

सन्दीपको घातक बलिङमा कतारमाथि नेपालको रोमाञ्चक जित

सोमबार राति भएको खेलमा लेगस्पिनर सन्दीप लामिछानेले घातक बलिङ गरेपछि नेपालले कतारमाथि ५ रनको रोमाञ्चक जित निकाल्यो।
सन्दीपको घातक बलिङमा कतारमाथि नेपालको रोमाञ्चक जित

काठमाडाैं, असाेज २८ : ओमानमा जारी आईसिसी टि २० विश्वकपको एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा नेपालले लागतार दोस्रो जित निकालेको छ। 

सोमबार राति भएको खेलमा लेगस्पिनर सन्दीप लामिछानेले घातक बलिङ गरेपछि नेपालले कतारमाथि ५ रनको रोमाञ्चक जित निकाल्यो। 

पहिला ब्याटिङ गर्दै नेपालले दिएका १४८ रनको लक्ष्य पछ्याएको कतार १ बल बाँकी छँदै १४२ रनमै अलआउट  भयो। उसका लागि ओपनर इमाल लियानागेले ३५ बलमा ५५ रन बनाए भने जुबेर अलीले ५५ बलमा २ चौका र १ छक्क मद्दटमा ५२ रन बनाए । अन्यले भने गतिलो योगदान दिन सकेनन्।

Hardik ivf

कतारलाई अलआउट गर्ने क्रममा  सन्दीपले ३.५ ओभरमा १८ रन मात्र खर्चेर ५ विकेट लिए भने नन्दन यादवले २ र दीपेन्द्रसिंह ऐरीले १ विकेट लिए। 

एक समय सहज जितको अवस्थामा रहेको कतारविरुद्ध नेपालले आजपनि शानदार पुनरागमन गर्दै जित निकालेको हो। दीपेन्द्रको एक रनआउट र आदिलको एक रनआउटले खेल नेपालको पक्षमा ल्याएको थियो ।

पहिले ब्याटिङ गरेको नेपालले कप्तान रोहित पौडेलको अर्धशतक मद्दतमा २० ओभरमा ९ विकेट गुमाएर १४७ रन बनाएको थियो ।

रोहितले ४१ बलमा ५८ रन बनाए । त्यस्तै दीपेन्द्रसिंह ऐरीले २१ बलमा २६ रन बनाए। यी दुईले चौथो विकेटका लागि अर्धशतकीय साझेदारी गर्दै नेपाललाई स्कोर अगाडि बढाएका थिए। यस्तै गुल्शन झाले आजपनि ८ बलमा १६ रन बनाए।

बलिङमा कतारका मिर्जा बेगले ४ ओभरमा २९ रन दिएर ३ विकेट लिए भने डानियल लुइसले पनि ३ विकेट लिए।

सुपर सिक्समा लागतार दोस्रो जितसँगै नेपालको ६ अंक भएको छ। सोमबार नै युएईलाई हराएको ओमान पनि ६ अंककै साथ रनरेटमा अघि रहँदै शीर्ष स्थानमा छ। युएई र जापनको समान १ अंक छ। 

 

प्रकाशित मिति: ०८:०१ बजे, मंगलबार, असोज २८, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्