कालापानी क्षेत्र हेर्ने गरी गागामा सशस्त्रको गुल्म राख्ने तयारी
गागा (दार्चुला), जेठ ३ : दार्चुलाको व्यास गाउँपालिका–१ स्थित त्रिदेशीय नाकाकारूपमा रहेको सामरिक महत्वको छाङरुको गागामा सरकारले सशस्त्र प्रहरीको ....

गागा (दार्चुला), जेठ ३ : दार्चुलाको व्यास गाउँपालिका–१ स्थित त्रिदेशीय नाकाकारूपमा रहेको सामरिक महत्वको छाङरुको गागामा सरकारले सशस्त्र प्रहरीको गुल्म नै राख्ने तयारी थालेको छ।
बुधबार सशस्त्र प्रहरीको सीमा निगरानी चौकी (बिओपी) स्थापना गरिसँगै एक सय ६० सशस्त्र प्रहरी रहने गरी गुल्म नै स्थापना गर्न आवश्यक प्रक्रिया शुरु गरिएको छ। बिहीबार मात्रै सशस्त्र प्रहरीको इञ्जीनियरको टोली गागा क्षेत्रको नापनक्सा गरेर फर्किएको छ।
लकडाउनलगत्तै भवन निर्माणका लागि बोलपत्र आह्वान हुने भएको छ। गुल्ममा सशस्त्र प्रहरी नायब उपरीक्षकको नेतृत्वमा एक सय ६० जनाको टोली रहने सशस्त्र प्रहरी बलले जनाएको छ।
गुल्मले कालापानी, लिपुलेक, व्यास गुफा, कैलाश मानसरोवरको प्रवेशद्वार तथा अपिनाम्पा संरक्षण क्षेत्रजस्ता सामरिक महत्व बोकेको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्रको सुरक्षा गर्नेछ। सकेसम्म छिटो गुल्म स्थापना गर्ने तयारी गरिएको र यसबाट सीमा रक्षा, आपराधिक क्रियाकलाप नियन्त्रण तथा सर्वसाधारणको शान्ति सुरक्षामा महत्वपूर्ण कदम हुने दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए।
गुल्मका लागि अपिनाम्पा संरक्षित क्षेत्रको मातहतमा रहेको कित्ता नं ३५ को ११५ रोपनी तीन आना जग्गामध्ये तिङ्कर नदीको किनारको १५ रोपनी जग्गा सशस्त्र प्रहरीलाई प्राप्त भइसकेको छ। गृह मन्त्रालयबाट बहुवर्षीय योजनाअनुरुप संरचना निर्माणका लागि ११ करोड रकम विनियोजन गरिसकिएको छ।
लकडाउनलगत्तै बोलपत्र आह्वान गरेर भवन निर्माणको काम थालिने गृहमन्त्रीका सुरक्षा सल्लाहकार प्रा.डा.इन्द्रजीत राईले बताए।
सशस्त्र प्रहरीका इञ्जीनियर प्रहरी नायब उपरीक्षक मिलनमान मास्केसहितको टोलीले गुल्मका लागि प्राप्त जग्गाको बिहीबार स्थलगत रूपमा पुगेर आवश्यक नापजाँच गरेको छ। अन्य क्षेत्रमा सुरक्षाफौज तैनाथ गर्ने योजना रहे पनि पहिलो प्राथमिकतामा यहाँको गुल्म छ। भवन आधुनिक प्रविधियुक्त र यहाँको वातावरण सुहाउँदो बन्नेछ।
बाह्रैमहिना चिसो हुने र जाडोको समयमा अत्यधिक हिउँ पर्ने भएकाले त्यस अनुकूलको संरचना निर्माण गरिनेछ। ३२ कोठे दुईतले भवन ‘सी’ आकारको बन्नेछ। ग्यास हिटिङसहितको भवन निर्माण गरिनेछ।
सन् १९६२ मा भारत–चीनसँगको युद्धका वेला कालापानीलगायत क्षेत्रमा भारतले सेना प्रवेश गराएको थियो। त्यो वेला राखिएको सेना अझै कालापानीमा छ। दार्चुलाका प्रजिअ पौडेलका अनुसार पहिले त्यस आसपास क्षेत्रमा नेपालको पाँच इलाका थियो। तिङकर र छाङरु नेपालमा छ। नेपालको तिकु र गुञ्जी भारतीय नियन्त्रणमा छ।
भारतले काली नाघेर कालापानी तल भएर बग्ने लिपुखोलालाई कालीको नाम दिई सीमा नदी बनाएर विवाद निकाल्दै आएको छ।
त्यसैले पनि सरकारले यहाँ गुल्मको सोच राखेर त्यस आसपासका सीमा क्षेत्रमा बिओपी स्थापना गर्ने योजना अघि सारेको हो। सशस्त्र प्रहरीको नं ५० गुल्मका प्रमुख प्रहरी नायब उपरीक्षक डम्बरबहादुर विष्टले गुल्म बसेपछि सो क्षेत्रको सुरक्षा मजबुत हुने बताए।
भारतले महाकाली नदी किनारकिनारै सडक बनाएर गुञ्जी, कालापानी, हुँदै लिपुभञ्जाङ पु¥याएको छ। तर नेपालतर्फ कुनै प्रयास छैन। यस्तो अवस्थामा यहाँ सीमा रक्षाका लागि सुरक्षाकर्मी परिचालन गरिएको छ। “राज्यको उपस्थिति अहिलेका लागि ठूलो हो, सीमा क्षेत्रमा सशस्त्र मात्रै होइन, प्रहरीका दुई समूहसमेत पु¥याएकाले आपराधिक गतिविधि नियन्त्रण, जनताको सुरक्षा र सीमा रक्षाका लागि दूरगामी र ऐतिहासिक कदम भएको छ,” प्रजिअ पौडेलले भने।
गुल्मका लागि भवन नबन्दासम्म भने मासिक २५ हजार भाडा तिर्ने गरी सशस्त्रको बिओपी बसेको छ। त्यसको पश्चिमपट्टि १५ रोपनी जग्गामा भवन बन्नेछ।
गत मंसिर २३ गते यहाँलगायत मुलुकका विभिन्न सीमा क्षेत्रमा ११४ बिओपी स्थापना गर्ने निर्णय सरकारले गरेको थियो। यो सहति १४ स्थानमा मात्रै बिओपी स्थापना भएको छ। अन्यत्र हुनसकेको छैन।
यहाँको बिओपी राख्ने निर्णय दार्चुला प्रशासनले विसं २०७५ मै गरेको थियो। सोही क्षेत्र हुँदै चीनको मानसरोवर जोड्नका लागि सन् २००८ देखि नै यहाँ भारतले सडक निर्माण गरेकामा अहिले उक्त सडक उद्घाटन भएपछि सीमा विवाद चुलिएको हो।
बिहीबार नेपाल प्रहरीको २१ जनाका् टोली पनि पुगेको छ। त्यसमध्ये १२ तिङ्करमा र बाँकी छाङरुको नीतिकुण्ड (सीतापुल सीमानजिक) राखिने दार्चुलाका प्रहरी नायब उपरीक्षक पदमबहादुर विष्टले बताए।
यहाँको व्यास गाउँपालिका–१ छाङरुमा ११५ घरधुरी छन्। १० किलोमिटर पर रहेको तिङ्करमा ६८ घरधुरी छन्। यहाँ दुवै क्षेत्रमा गरेर एक हजार २२० जनसङ्ख्या रहेको छ। यहाँबाट माथि कालापानी झण्डै १५ किलोमिटरको दूरीमा पर्छ। तिङ्कर १० किलोमिटरमा पर्छ। तिङ्करबाट लिपुलेक करिब १० किलोमिटरको दूरीमा रहेको स्थानीय जीतबहादुर बोहराले बताए।
दार्चुलाबाट उत्तरपूर्वमा पर्ने छाङरुबाट लिपुलेक अन्दाजी २५ किलोमिटरको दूरीमा रहेको छ। बाटो नभएकाले हिँडेर जान सकिने अवस्था छैन। सशस्त्र प्रहरी आएपछि भने यहाँका स्थानीय पनि खुशी भएका छन्। (रासस)











