जापानविरुद्धको जितसँगै नेपालले सुपरसिक्समा २ अंक जोड्यो
यो जितसँगै नेपाल सुपर सिक्समा समूह विजेताका रुपमा पुगेको छ। र, नेपालले सुपर सिक्समा २ अंक पनि जोडेको छ।
काठमाडाैं, असाेज २४ : आईसिसी टि-२० विश्वकपको एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटमा नेपालले समूका दुवै खेल जितेको छ। शुक्रबार साँझ भएको खेलमा नेपालले जापानमाथि ५ विकेटको जित निकाल्यो।
यो जितसँगै नेपाल सुपर सिक्समा समूह विजेताका रुपमा पुगेको छ। र, नेपालले सुपर सिक्समा २ अंक पनि जोडेको छ। अब नेपालले सुपर सिक्समा अन्य दुई समूहका ४ टिमसँग मात्र खेल्नेछ।
यता, नेपालसँग पराजित भएपछि जापान पनि समूहको उपविजेताका रुपमा सुपर सिक्समा पुगेको छ।
१३२ रनको सामान्य लक्ष्य नेपालले २ ओभर बाँकी छँदा ५ विकेटको क्षतिमा भेट्टायो। नेपालका लागि आसिफ शेखले सर्वाधिक ३८ रन बनाए। उनले २१ बलमा १ चौका र ४ छक्का प्रहार गरे।
गुल्शन झाले २८, कुशल भुर्तेलले २१ रन बनाउँदा कप्तान रोहित पौडेलले १८ रन बनाए । दीपेन्द्रसिंह ऐरी १४ रनमा अविजित रहे। बलिङमा जापानका शोमा स्लेटरले ४ ओभरमा २२ रन दिएर २ विकेट लिए।
त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको जापानले २० ओभरमा ८ विकेट गुमाएर १३१ रन बनाएको थियो। उसका जापानका लागि कप्तान केन्डल काडोवाकी फ्लेमिङले सर्वाधिक ६० रन बनाए। उनले ४६ बलमा ५ चौका र ३ छक्का प्रहार गरे।
यस्तै, इस्मान रहमानले २५ बलमा ३१ रन बनाउँदा बेन्जामिन इटो डेविडले १७ रन बनाउनुबहेक अन्यले दोहोरो अंकमा स्कोर बनाउन सकेनन्।
नेपालका लागि गुल्शन झाले ४ ओभरमा २० रन दिएर २ विकेट लिए । सन्दीप लामिछानेले ४ ओभरमा २५ रन दिएर २ विकेट लिए । सोमपाल कामी र नन्दन यादवले समान १ विकेट लिए ।












