गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अर्को वर्ष सञ्चालनमा ल्याइने
काठमाडौं, जेठ २ : सरकारले रुपन्देहीको भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आगामी आर्थिक वर्षसम्ममा सञ्चालनमा आउने भएको छ।&nb....

काठमाडौं, जेठ २ : सरकारले रुपन्देहीको भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आगामी आर्थिक वर्षसम्ममा सञ्चालनमा आउने भएको छ।
शुक्रबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले विमानस्थललाई आगामी आर्थिक वर्षमा सञ्चालनमा ल्याउने बताएकी हुन्।
यस्तै, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य आगामी आर्थिक वर्षमा सकिने सरकारले जनाएको छ। ४० वर्षपछि पहिलो पटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग कालोपत्रे भएको र आगामी आर्थिक वर्षभित्र बुटिक विमानस्थलका रुपमा सञ्चालन गर्ने सरकारको योजना छ।
यस्तै, निजगढ विमानस्थलको निर्माण कार्य सुरु गर्ने घोषणा सरकारले गरेको छ। चालू आर्थिक वर्षमा ८ विमानस्थलको धावन मार्ग कालोपत्रे भएको र आगामी आर्थिक वर्षमा तीन आन्तरिक विमानस्थलको धावनमार्ग कालोपत्रे हुने भएको छ।
यसैगरी, दुई आन्तरिक विमानस्थल आगामी आर्थिक वर्षमा निर्माण सम्पन्न गरिनेछ। यस्तै, तेह्रथुमको चुवानडाँडा र काभ्रेको उपयुक्त स्थानमा आन्तरिक विमानस्थल निर्माण गर्ने सरकारले घोषणा गरेको छ। हाल ८ आन्तरिक विमानस्थलबाट रात्रीकालीन सेवा सुरु भएको सरकारले जनाएको छ।











