स्याङ्जाको अर्जुनचौपारीले थाल्यो पालिकामै आयुर्वेदिक औषधि उत्पादन
गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीले औषधि उत्पादनका लागि आवश्यक मेसिनको उद्घाटन गर्दै भने, “आयुर्वेद हाम्रो मौलिक पहिचान हो । गाउँकै स्रोतसाधन प्रयोग गरी औषधि उत्पादन गर्न सक्नु गर्वको कुरा हो । यसले स्वास्थ्य सेवा सुदृढ गर्नुका साथै गाउँपालिकालाई आत्मनिर्भर बनाउनेछ ।”
स्याङ्जा, असोज २३ : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाले आफ्नो आयुर्वेद शाखामार्फत पहिलो पटक आफ्नै स्तरमा आयुर्वेदिक औषधि उत्पादन कार्यको एक कार्यक्रमकाबीच औपचारिक शुभारम्भ गरेको छ ।
गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीले औषधि उत्पादनका लागि आवश्यक मेसिनको उद्घाटन गर्दै भने, “आयुर्वेद हाम्रो मौलिक पहिचान हो । गाउँकै स्रोतसाधन प्रयोग गरी औषधि उत्पादन गर्न सक्नु गर्वको कुरा हो । यसले स्वास्थ्य सेवा सुदृढ गर्नुका साथै गाउँपालिकालाई आत्मनिर्भर बनाउनेछ ।”
अध्यक्ष तिवारीले थपे, “पालिकाभित्र रहेका औषधियोग्य जडिबुटीको पहिचान र प्रवर्द्धन गर्दै औषधि उत्पादन गर्न सक्दा पालिकाबासीको आय आर्जनमा समेत उल्लेखनीय योगदान पुग्नेछ । जनताको स्वास्थ्यको रक्षा गर्न र रोगको उपचारका लागि हामी निरन्तर प्रयत्नशील रहनेछौं ।”
उनका अनुसार, गाउँपालिकाले यस कार्यमार्फत स्थानीय स्रोतसाधनको सदुपयोग, रोजगारी सिर्जना र स्वदेशी ज्ञानको प्रवर्द्धन गर्ने लक्ष्य लिएको छ ।
उपाध्यक्ष सपना गुरुङले आयुर्वेद शाखाको यो पहललाई गाउँपालिकाको दीर्घकालीन स्वास्थ्य रणनीतिसँग मेल खाने महत्वपूर्ण कदम बताउँदै भनिन्, “गाउँमै औषधि उत्पादन सुरु हुनु दीर्घकालीन दृष्टिले ठूलो उपलब्धि हो । यसलाई अझ सशक्त र प्राविधिक रूपमा सबल बनाउने हाम्रो प्रतिबद्धता छ ।”
प्रमुख प्रशासकीय अधिकृत युवराज अर्यालले स्वास्थ्य संस्थाका कर्मचारीहरू बिदाको दिनसमेत सेवामा खटिने गरेको जानकारी दिँदै पालिकाले स्वास्थ्य सेवामा उच्च प्राथमिकता दिएको बताए ।
त्यस्तै, वडा नं १ का अध्यक्ष रणबहादुर थापाले आयुर्वेदिक पद्धति र पोषण कार्यक्रममार्फत जनस्वास्थ्यमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।आयुर्वेद शाखा प्रमुख ललित थापाका अनुसार, सुरुवाती चरणमा सामान्य जडिबुटीजन्य औषधि उत्पादन सुरु गरिनेछ भने आगामी दिनमा थप प्रभावकारी औषधिहरू उत्पादन गर्ने योजना बनाइएको छ ।
प्रारम्भिक चरणमा आमलकि चुर्ण, हरितकि चुर्ण, अस्वगन्धा चुर्ण, अर्जुन बीज चुर्ण लगायतका एकल औषधिहरू उत्पादन गरिनेछ । त्यस्तै, अन्य संयुक्त औषधिहरूमा त्रिफला चुर्ण, सितोपलादि चुर्ण, त्रिकटु चुर्ण जस्ता औषधिहरू निर्माण गरिनेछ । जेष्ठ नागरिकहरूको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै वातसामक तेल समेत यहीँ उत्पादन गरिने योजना बनाइएको आयुर्वेद शाखा प्रमुख थापाले बताए ।
उनका अनुसार स्थानीय स्तरमा पाइने हर्रो, बहर्रो, अमला, बेसार, लसुन, टिमुर, काफल, चुत्रो, निम, असुरो, हडचुर, तितेपाति, धयरी आदि जस्ता एकल जडिबुटीहरूको खोज र खरिद गरेर औषधि निर्माण गरिनेछ । साथै, गाउँमा नपाइने जडिबुटीहरू बाहिरबाट खरिद गरी चुर्ण औषधि उत्पादन गरिनेछ । ती औषधिहरूलाई गाउँका टोल–टोलमा गएर स्थानीय जनताको आवश्यकता अनुसार वितरण गरिने योजना समेत रहेको छ ।
आयुर्वेद शाखा प्रमुख ललित थापाका अनुसार गाउँपालिकाले हप्तैपिच्छे प्रत्येक टोल र विद्यालयमा योग, ध्यान तथा पोषणसम्बन्धी कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । उनले यसलाई स्वास्थ्यप्रति सचेत समाज निर्माण गर्ने दिगो प्रयासको रूपमा वर्णन समेत गरे ।
यससँगै अर्जुनचौपारी गाउँपालिकाले स्वदेशी ज्ञान, आत्मनिर्भरता र जनस्वास्थ्य सुदृढीकरणको दिशामा ऐतिहासिक कदम चालेको छ ।












-(86)-1764936079.jpg)