फ्रिक्वेन्सी बोलकबोलमा टेलिकम र एनसेलको मात्रै आवेदन
काठमाडौं, फागुन २४ : दूर सञ्चारको फ्रिक्वेन्सी बोलकबोलमा नेपाल टेलिकम र एनसेलले आवेदन दिएका छन् । नेपाल दूर सञ्चार प्राधिकरणकोे फ्रिक्वेन्सी बोलकबोलको....

काठमाडौं, फागुन २४ : दूर सञ्चारको फ्रिक्वेन्सी बोलकबोलमा नेपाल टेलिकम र एनसेलले आवेदन दिएका छन् । नेपाल दूर सञ्चार प्राधिकरणकोे फ्रिक्वेन्सी बोलकबोलको प्रक्रियाविरुद्ध अदालतमा मुद्दा परेपछि तीन पटक रोकिएको थियो ।
पुस ४ गते फ्रिक्वेन्सी बोलकबोलका लागि सर्त राखेर दूर सञ्चार कम्पनीहरूबाट आवेदन माग गरिएको थियो । नेपाल दूर सञ्चार प्राधिकरणले बिहीबार आवेदन खुला गर्दै दुइटा कम्पनीले मात्र आवेदन दिएको जनाएको छ ।
प्राधिकरणका अनुसार नेपाल टेलिकमले १८ सय ब्यान्डका लागि मात्र आवेदन दिएको छ भने एनसेलले बोलकबोलका लागि खुला गरिएका तीनवटै ब्यान्ड ९ सय, १८ सय र २१ सयमा आवेदन दिएको छ ।
प्राधिकरणले आधारभूत दूर सञ्चार सेवाको अनुमतिपत्र प्राप्त गरेको, प्राधिकरणलाई तिर्नुपर्ने बक्यौता चुक्ता गरेकोलगायतका सर्त राखेको थियो ।
टेलिकम र एनसेलबाहेक स्मार्ट टेलिकम र युटिएलले आधारभूत दूर सञ्चारको लाइसेन्स पाएका छन् तर स्मार्ट र युटिएलले प्राधिकरणलाई बुझाउनुपर्ने बक्यौता रहेकाले बोलकबोलमा सहभागी हुन पाएनन् ।
प्राधिकरणले तत्कालका लागि १८ सय ब्यान्डमा मात्र बोलकबोलमार्फत फ्रिक्वेन्सी उपलब्ध गराउने प्रक्रिया अघि बढाउने छ ।
दुइटा कम्पनी सहभागी भएकाले १८ सयमा बोलकबोलको प्रक्रिया अघि बढ्ने प्राधिकरणले जनाएको छ । ९ सय र २१ सय ब्यान्डका लागि भने फेरि अर्को सूचना प्रकाशित गरेर आवेदन माग गर्ने प्राधिकरणले जनाएको छ ।











