Kathmandu Press

मोरक्कोमा पनि जेन–जी आन्दोलन चार्कियो, प्रधानमन्त्रीको राजीनामा माग

शान्तिपूर्ण रूपमा सुरु भएको आन्दोलनकाक्रममा केही ठाउँमा हिंसात्मक घटना भएका छन्। बैंकहरू लुटिएका छन् भने कारहरू जलाइएर सार्वजनिक सम्पत्ति नष्ट गरिएका छन्।
मोरक्कोमा पनि जेन–जी आन्दोलन चार्कियो, प्रधानमन्त्रीको राजीनामा माग

काठमाडौ, असोज १७ : मोरक्कोका विभिन्न सहरहरूमा युवाहरूको नेतृत्वमा भइरहेको सरकारविरोधी आन्दोलन चर्किएको छ।

अन्तरराष्ट्रिय संचारमाध्यमहरुले सुरक्षाकर्मी युवा आन्दोलनकारीमाथि गोली चलाउँदा तीन जनाको मृत्यु भएको जनाएका छन् । प्रदर्शन निरन्तर जारी रहेको छ। 

आन्दोलनकारीले विशेषगरी उच्चस्तरीय विद्यालय र गुणस्तरीय अस्पतालहरूको माग अघि सारेका छन्। उक्त मागसँगै प्रधानमन्त्री अजिज अखान्नोचलाई राजीनामा दिन आह्वान गरिएको संचारमाध्यमले जनाएका छन्।

Hardik ivf

मोरक्कोको राजधानी रबातदेखि व्यापारिक सहर कासाब्लान्कासम्म ठूलो सङ्ख्यामा युवाहरू सडकमा उत्रिएका छन्। शान्तिपूर्ण रूपमा सुरु भएको आन्दोलनकाक्रममा केही ठाउँमा हिंसात्मक घटना भएका छन्। बैंकहरू लुटिएका छन् भने कारहरू जलाइएर सार्वजनिक सम्पत्ति नष्ट गरिएका छन्। 

सोहीक्रममा प्रहरीले गोली चलाउँदा तीनजनाको मृत्यु भएको थियो । तटीय सहर अगादिर नजिकैको लेक्लिया भन्ने सानो सहरमा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच भीषण झडप हुँदा तीन युवाको मृत्यु भएको हो।

प्रदर्शनकारीले प्रहरी हतियार खोस्ने प्रयासमा मारिएको दाबी सरकार पक्षले गरेको छ । प्रदर्शनकारी युवाले ‘जनताले अखान्नोचलाई हटाउन चाहन्छन्’ र ‘सरकारलाई हटाऊ’ भन्ने नारा लगाउँदै त्यहाँ राजालाई हस्तक्षेप गर्न आग्रह गरेका छन्। प्रधानमन्त्री अजिज अखान्नोचले पहिलो पटक सार्वजनिक प्रतिक्रिया दिँदै मृतकहरूको निधनमा शोक व्यक्त गरेको जनाइएको छ । अखान्नोचले सुरक्षाकर्मीहरूले कानून र व्यवस्था कायम गर्न गरेको प्रयासको प्रशंसा गर्दै सरकार संवादमार्फत समाधान खोज्न इच्छुक रहेको सङ्केत गरेका छन् । उनले भने, ‘संवादमै आधारित दृष्टिकोण नै हाम्रो देशले सामना गर्ने समस्याहरूलाई समाधान गर्ने एक मात्र सही बाटो हो।’

तर प्रधानमन्त्री अखान्नोचले प्रदर्शनकारीको माग अनुसार राजीनामा दिने बारे संवोधनमा केही बताएनन् । भिडन्तकाक्रममा ३५४ जना घाइते भएको जनाइएको छ । घाइतेमध्ये अधिकांश सुरक्षाकर्मी रहेका छन्। २३ वटा प्रान्तमा सयौँ कार, बैंक, पसल र सार्वजनिक भवन क्षतिग्रस्त भएको समाचारमा जनाइएको छ। 

देशभर करिब ७० प्रतिशत प्रदर्शनकारीहरू नाबालिग रहेको अनुमान गरिएको छ । जेनेरेसन जी– २१२ नामक नेतृत्वविहीन आन्दोलनले यी प्रदर्शनहरू आयोजना गरेको बताइएको छ। समाचार अनुसार इन्टरनेट र सामाजिक सञ्जालको सक्रिय प्रयोग गर्ने युवाहरूको यो समूह हालसम्म मोरक्कोमा देखिएको सबैभन्दा ठूलो युवा आन्दोलन बनेको छ।

प्रदर्शनकारीहरूले दैनिक जनताका लागि आवश्यक स्वास्थ्य र शिक्षा सेवामा भएको कमीलाई भ्रष्टाचारसँग जोडेर आन्दोलन सञ्चालन गरेका हुन् । उनीहरूले सन्, २०३० को विश्वकप आयोजनाका लागि अर्बौं डलर खर्च भइरहे पनि विद्यालय र अस्पतालहरू अभावग्रस्त अवस्थामा रहेको आरोप समेत लगाएका छन्। 

‘स्वास्थ्य सेवा पहिले, हामीलाई विश्वकप चाहिँदैन’ भन्ने नारा सडकमा सबैभन्दा लोकप्रिय बनेको छ । ‘स्टेडियमहरू तयार छन्, तर अस्पतालहरू कहाँ छन ?’ भन्ने नारा समेत सडकमा गुञ्जिएका थिए।

हालै अगादिरको एक सार्वजनिक अस्पतालमा आठ महिलाको मृत्यु भएको घटनाले स्वास्थ्य प्रणालीप्रति असन्तोष झन् बढाएको जनाइएको छ। मोरक्को एकातिर द्रुत विकासतर्फ अघि बढिरहेको छ भने अर्कोतर्प समाजमा गहिरो असमानता रहेको तथ्य प्रदर्शनहरूले उजागर गरेका छन् । ग्रामीण क्षेत्रमा शिक्षा र स्वास्थ्य सुविधाको अवस्था निकै कमजोर रहेको बतइन्छ । रोजगारीको अवसर पनि न्यून छ। 

हालसम्म देशभर एक हजारभन्दा बढी व्यक्ति पक्राउ परेका छन् । मानव अधिकार संस्थाहरूका अनुसार, पक्राउ परेकामध्ये धेरैजना नाबालिग छन् । केहीलाई सादा पोशाकमा आएका सुरक्षाकर्मीहरूले प्रत्यक्ष टेलिभिजन अन्तर्वार्ताका क्रममा समेत नियन्त्रणमा लिइएको बताइएको छ। 

मोरक्कोका कतिपय सहरमा स्थिति नियन्त्रण बाहिर गएको छ। विभिन्न सहरका प्रत्यक्षदर्शीहरूले दिएको विवरणअनुसार, धेरै स्थानमा प्रदर्शनकारीहरूले ढुङ्गामुढा गरे, गाडीमा आगो लगाए र सरकारी भवनहरूमा तोडफोड गरेका छन्।

 

प्रकाशित मिति: १६:२७ बजे, शुक्रबार, असोज १७, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्