वेस्ट इन्डिजसँग खेल्न खेलाडीको मनोबल उच्च छ, यो नेपालीलाई खुसी बनाउने अवसर हो : राेहित
सबैजना धेरै उत्साहित हुनुहुन्छ, वेस्ट इन्डिजलाई हराउन सके विश्व क्रिकेटमा राम्रो छाप छोड्न सक्छौं। यसले विश्वकप छनोटमा पनि महत्वपूर्ण भूमिका खेल्न छ,’ रोहितले भने।
काठमाडाैं, असाेज १० : नेपालले आईसिसीको पूर्ण सदस्य वेस्टइन्डिजसँग ऐतिहासिक टि–२० सिरिज खेल्दै छ। नेपालले पहिलो पटक आईसिसीको पूर्ण सदस्यसँग पहिलो पटक सिरिज गर्न लागेको हो।
सिरिज भोलिबाट सुरु हुँदै छ। सिरिजको पहिलो खेल नेपाली समयअनुसार भोलि राति ८ः४५ बजे सारजाह क्रिकेट मैदानमा हुने छ।
खेलअघि शुक्रबार सारजाहमा भएको प्रिम्याच कन्फ्रेन्समा कप्तान रोहित पौडेलले सिरिजका लागि आफूहरु तयार रहेको बताउँदै खेलाडीको मनोबल उच्च रहेको बताए। सिरिजका लागि तयारी राम्रो भएको बताउँदै वेस्टइन्डिजसँग ऐतिहासिक सिरिज खेल्न आफूहरु आतूर रहेको बताए।
यस्तै, कप्तान रोहितले यो सिरिज दशैंको मुखमा नेपालीहरुलाई थप खुसी दिने अवसर समेत भएको बताए। उनले भने, ‘हाम्रो लागि ऐतिहासिक अवसर छ, साथै सम्पूर्ण नेपालीहरूलाई खुसी बनाउने अवसर पनि छ।’
उनले टि–२० क्रिकेटको बलियो वेस्टइन्डिजलाई हराउन सके त्यसले विश्वकपमा राम्रो छाप छोड्न सकने बताए। ‘सबैजना धेरै उत्साहित हुनुहुन्छ, वेस्ट इन्डिजलाई हराउन सके विश्व क्रिकेटमा राम्रो छाप छोड्न सक्छौं। यसले विश्वकप छनोटमा पनि महत्वपूर्ण भूमिका खेल्न छ,’ रोहितले भने।
प्रिम्याच कन्फ्रेन्समा रोहितले नेपाल फर्कँदा विश्वकपमा छनोट भएर फर्कने उनले प्रतिबद्धता जनाए। ‘वेस्ट इन्डिजसँगको सिरिजमा राम्रो गरेर विश्वकपमा पनि छनोट हुने प्रतिबद्धता व्यक्त गर्दछु,’ उनले भने।












