कांग्रेसले भन्यो- सीमानामा अलपत्र नेपालीलाई तत्काल प्रवेश देऊ
काठमाडौं, जेठ २ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सीमानामा अलपत्र परेका नेपालीलाई तत्काल नेपाल प्रवेश दिन माग गरेको छ। प्रवक्ता विश्वप्रकाश शर्....

काठमाडौं, जेठ २ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सीमानामा अलपत्र परेका नेपालीलाई तत्काल नेपाल प्रवेश दिन माग गरेको छ। प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रबार विज्ञप्ती जारी गर्दै सरकार हुनुको दायित्व निर्वाह गर्न सरकारलाई आग्रह गर्दै सीमानामा अलपत्र नेपालीलाई तत्काल प्रवेश दिन आग्रह गरेका हुन्।
‘कयौं नेपाली कयौं दिनदेखि भारतसँगको विभिन्न सीमा नाकामा अलपत्र परेका छन्। पछिल्लो चौबीस घण्टामा थप हजारौं नेपाली सीमा क्षेत्रमा आइपुगेको विवरण नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा प्राप्त भएको छ,’ विज्ञप्तीमा भनिएको छ, ‘भारत सरकारले रेल र बसमार्फतको सुविधा दिएपछि भारतको विभिन्न शहरबाट यसरी नाकामा आइपुगेका नेपालीलाई प्रवेश गराउनेबारे संघीय सरकारले प्रष्ट नीति तय गरेर निर्देशन जारी नगर्दा कतिपय नाकाबाट प्रवेश गराइएको विवरण प्राप्त छ भने कयौं नाकामा प्रवेश नपाएर नेपालीहरु अलपत्र स्थितिमा छन्।’
शर्माले जोखिम रहित ढंगले प्रवेश गराउन सरकारले तत्काल गम्भीरतासाथ पहल नगर्ने हो भने एकातर्फ खाने—बस्ने कठिनाइमा हजारौं नेपाली दसगजा क्षेत्रमा थप प्रताडित हुने बताएका छन्। यस्तै लुकिछिपी नेपाल प्रवेश गर्ने कतिपयको प्रयत्नले कोरोनाको जोखिम झनै बढ्ने शर्माको भनाइ छ। ‘नाकामा आइपुगेका सबै नेपालीलाई ब्यवस्थित ढंगले प्रवेश गराउन तथा उचित क्वारेन्टाइनमा कडाइका साथ राखेर परीक्षणपश्चात् सुरक्षित रूपमा घर पु¥याउने प्रवन्ध गर्न नेपाली कांग्रेस नेपाल सरकारलाई आग्रह गर्दछ,’ विज्ञप्तीमा भनिएको छ, ‘लुकिछिपी प्रवेशबाट यसबीचमा संक्रमण फैलिन योगदान पुगेको परिदृश्य स्मरण गर्दै, सतर्कता र उच्च मानवीय भावना साथ सरकार हुनुको दायित्व निर्वाह गर्न नेपाली कांग्रेस सरकारलाई आग्रह गर्दछ।’











