स्याउबाट जाम, जेली, जुस बनाएर आम्दानी गर्न सिक्दै मुगुका किसान
जिल्ला भित्रका विभिन्न स्थानमा किसानलाई जाम, जेली, जुस, चाना, अचार लगायतका परिकार बनाउन तीन दिने तालिम दिइएको छ।मुगु, असोज ८ : प्राकृतिक स्रोत साधनले सम्पन्न भए पनि अवसर र लगानीको अभावले लामो समयदेखि ओझेलमा परिरहेको मुगुमा पछिल्लो समय कृषि क्षेत्रमा सकारात्मक परिवर्तन देखिन थालेको छ।
सडक सञ्जाल विस्तारसँगै यहाँ उत्पादन हुने अर्गानिक स्याउ देशभरका विभिन्न शहरमा पुग्न थालेपछि किसानको दैनिकी सहज बन्दै गएको छ।
मुगुको स्याउ सिजनमा त ताजा फलका रूपमा बजारमा बिक्री हुने गरेको छ भने अफ–सिजनमा खेर जाने स्याउलाई प्रयोगमा ल्याउन किसानले नयाँ सीप सिक्न थालेका छन्। जिल्ला भित्रका विभिन्न स्थानमा किसानलाई जाम, जेली, जुस, चाना, अचार लगायतका परिकार बनाउन तीन दिने तालिम दिइएको छ।
‘तालिमपछि किसानलाई परिकार बनाउन आवश्यक उपकरण खरिद गर्दा कुल मूल्यको ५० प्रतिशतसम्म अनुदान उपलब्ध गराइन्छ। यसले स्याउ खेर जाने समस्या कम गरी किसानलाई थप आम्दानी गर्ने अवसर प्रदान गर्नेछ,’ राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना इकाई मुगुका प्रमुख तेजविक्रम मल्लले भने।
तालिमपछि किसानहरू उत्साहित भएका छन्। ‘यो तालिम अन्त्य नभई सुरुवात मात्र हो। किसानले घरमा गएर उत्पादनलाई परिकारमा परिणत गरी बजारमा पुर्याउन सके गाउँमै रोजगारी सिर्जना गर्न सकिन्छ। विदेश जानुभन्दा आफ्नै उत्पादनबाट आत्मनिर्भर बन्ने अवसर यसले खोल्छ,’ प्रशिक्षक हरिकृष्ण बिष्टले भने।
यसअघि राम्रो गुणस्तरका दाना मात्र बिक्री हुने र बाँकी स्याउ परिवार, पशुपालन वा नष्ट गर्नुपर्ने अवस्था थियो। तर अब किसानले जुस, जाम, जेली, अचार, भुजालगायतका वस्तु बनाउन सीप सिकेका छन्।
मुगुमा स्याउ उत्पादन अत्यधिक मात्रामा हुने भएकाले यसको व्यवस्थित उपयोग भए जिल्लाको आर्थिक उन्नतिमा महत्वपूर्ण योगदान पुग्ने किसानहरूको विश्वास छ।












![सुनिल थापालाई अन्तिम श्रद्धाञ्जली [तस्बिरहरु]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-1-1770543019.jpg)