प्रदेश नं २ मा स्वाब संकलनको दायरा बढाइयो
जनकपुरधाम, जेठ २ : प्रदेश नं २ मा कोरोना संक्रमितको संख्यमामा वृद्धि भएपछि स्वाबको नमूना संकलन साथै कन्टयाक्ट ट्रेसिङको दायरा बढाइएको छ। ती दुवै कार्य....

जनकपुरधाम, जेठ २ : प्रदेश नं २ मा कोरोना संक्रमितको संख्यमामा वृद्धि भएपछि स्वाबको नमूना संकलन साथै कन्टयाक्ट ट्रेसिङको दायरा बढाइएको छ। ती दुवै कार्यमा तीव्रता ल्याउन काठमाडौंबाट विशेष टोली यहाँ आइपुगेपछि दायरा बढाइएको हो।
गत वैशाख ३० र ३१ गते कोरोना पुष्टि भएका ६० जनाको सम्पर्कमा आएका ३७० जनाको कन्टयाक्ट टे«सिङ गरी स्वाबको नमूना संकलन कार्य भइरहेको समाजिक विकास मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेले जानकारी दिए। यसका साथै वीरगञ्जबाट फरार भएका दुई संक्रमितमध्येका ४४ वर्षीय एक व्यक्तिमा मोटरसाइकलमा चढेर धुबिनीगाउँ पुगेको जनाइएको छ। सो मोटरसाइकल चालकसहित ६ जना आफन्तको पनि स्वाबको संकलन गरिने भएको छ। अर्को व्यक्ति कसैको सम्पर्क नआएको बताइएको छ। दुवै जनालाई पक्राउ गरी पुनः भर्ना गरिएको छ।
राजविराजस्थित गजेन्द्रनारायणसिंह अस्पतालमा बिहीबारदेखि स्वाबको नमूना संकलन भइरहेको छ। यसका साथै सप्तरीको खड्गपुर, राजगढ र तीलाठी–कोइलाडी गाउँपालिकामा पनि नमूना संकलन गरिनेछ। सर्लाहीका ४५ वर्षीय संक्रमितको सम्पर्कमा आएका तीन जनाको नमूना लिइसकिएको उनले जानकारी दिए। धनुषा र महोत्तरीको जोखिम क्षेत्र पहिचान गरी स्वाब संकलन गरिनेछ।
सिरहा जिल्लामा भारतबाट लुकीछिपी प्रवेश गर्नेहरुको संख्यामा बृद्धि भइरहेकाले यसतर्फ स्थानीय समुदायलाई निगरानी गर्न र प्रवेश गरेका व्यक्तिलाई नजिकको क्वारेन्टाइनमा राख्न जोड दिइएको छ। प्रदेशमा बिहीबारसम्ममा चार हजार ६०० जनाको स्वाब संकलन गरिएको छ। सोमध्ये तीन हजार ७२९ को रिपोर्ट नेगेटिभ आएको छ भने ७७४ जनाको रिपोर्ट आउन बाँकी छ।
वीरगञ्जस्थित नारायणी अस्पतालमा ६३ र वीरगञ्जस्थित स्कूलको आइसोलेसनकक्षमा आठ जनाको उपचार भइरहेको सचिव डा घिमिरेले बताए। यस प्रदेशमा हालसम्म ९९ जनामा कोरोनाको संक्रमण पुष्टि भइसकेको छ।
पर्सामा सबैभन्दा बढी ८२, रौतहट, बारा र धनुषामा तीन–तीन र महोत्तरी र सर्लाहीमा दुई–दुई कोरोना संक्रमित छन्। अन्य तीन जना भारतीय हुन्। सो संक्रमितमध्ये वीरगञ्जका दुई र जनकपुरका एक गरी तीन सञ्चारकर्मी पनि कोरोनाबाट संक्रमित भएका छन्।











