नीति तथा कार्यक्रमबारे सुझाव संकलन गर्न बसेको बैठकमा सीमा विवादबारे छलफल
काठमाडौं, जेठ २ : प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले नीति तथा कार्यक्रमबारे पार्टीको सुझाव संकलन गर्न बोलाएको सचिवालय बैठकमा सीमा व....

काठमाडौं, जेठ २ : प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले नीति तथा कार्यक्रमबारे पार्टीको सुझाव संकलन गर्न बोलाएको सचिवालय बैठकमा सीमा विवादबारे कुरा उठेको छ। सचिवालयका सदस्यहरुले अतिक्रमित भूमि समेटेको नयाँ नक्सा सर्वाजनिक गर्न सरकारलाई आग्रह गरेको हो।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा लिपुलेक, लिम्पियाधुरा र कालापानीसमेत समेटिएको नयाँ नक्सा सार्वजनिक गर्ने विषयमा छलफल भएको पूर्व प्रधानमन्त्रीसमेत रहेका नेकपाका नेता झलनाथ खनालले बताए।
बैठकमा नीति तथा कार्यक्रमबारे पनि घनिभूत छलफल भएको छ। नीति तथा कार्यक्रम र आगामी बजेट कोरोना रोकथाम तथा नियन्त्रणमा केन्द्रीत हुनुपर्ने सदस्यहरुको सुझाव छ।
’नीति तथा कार्यक्रम र बजेट ल्याउँदा राष्ट्रियतालाई सुदृढ गर्ने , अर्थतन्त्रलाई सुदृढ गर्ने र कोरोनालाई प्रभावकारी ढंगले नियन्त्रण लिनेबारे सरकारलाई सुझाव दियौँ,’ नेता खनालले भने,’ सीमा विवादबारे पनि छलफल भयो। सीमा जोगाउने, जमिनको रक्षा गर्ने र कालापानी लिपुलेक र लिम्पियाधुरासमेत समेटिएको नयाँ नक्सा जारी गर्ने विषयमा छलफल भयो।’
नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले अन्तिम समयमा स्थगित भएको स्थायी कमिटि बैठकबारे कुनै निर्णय नभएको बताए।
आज सरकारको निति तथा कार्यक्रम राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदमा प्रस्तुत गर्दै छन्।











