रौतहटबाट लागूऔषध गाँजा सहित ३ सय ३४ केजी बरामद
ईशनाथ नगरपालिका–८ मनसरी हुँदै भारततर्फ लैजाँदै गरिएको अवस्थामा सशस्त्र प्रहरी र जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले चेकजाँच गर्ने क्रममा लागू औषध गाँजा फेला परेको हाे।-(14)-1758431756.jpg)
रौतहट, असोज ५ : रौतहट इशनाथ नगरपालिकाको मोतिपुरबाट प्रहरीले लागूऔषध गाँजा ३ सय ३४ केजी बरामद गरेको छ। नेपाल भारत सीमावर्ती क्षेत्रबाट लागुऔषध गाँजा सहितको पिकअपलाई शनिवार राति प्रहरीले नियन्त्रणमा लिएको हो।
ईशनाथ नगरपालिका–८ मनसरी हुँदै भारततर्फ लैजाँदै गरिएको अवस्थामा सशस्त्र प्रहरी र जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले चेकजाँच गर्ने क्रममा लागू औषध गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपी राजु कार्कीले जानकारी दिए।
उनका अनुसार प्रदेश ३–०१–०२२ च १८६१ नम्बरको पिकअप गाडीलाई रोक्न खोज्दा सडकमै रोकेर चालक फरार भएका हुन्। उक्त पिकअपलाई प्रहरीले चेकजाँच गर्दा माथिबाट २० पोका काउली लोड भएपनि तल २६ पोका गाँजा फेला परेको रौतहट प्रहरी प्रवक्ता एवं डिएसपी कार्कीले बताए।
प्रहरीका अनुसार तरकारी लोड गरिएको जस्तो देखाइए पनि पिकअपभित्र २६ वटा पोकामा लुकाइछिपाइ गरी गाँजा लोड गरिएको थियो।
लागूऔषधसहित पक्राउ परेका व्यक्तिहरुको पहिचान खुलाइएको छैन भने घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।












