Kathmandu Press

संविधानको रक्षा र गणतन्त्र सुदृढीकरणमा सबै एकजुट हुन मुख्यमन्त्रीको अपिल

युवाहरूको ऊर्जा, सिर्जनशीलता र सीपको सदुपयोग गरी समृद्ध नेपालको राष्ट्रिय आकांक्षा पूरा गर्न सरकार प्रतिबद्ध रहेको उनले स्पष्ट पारे।
संविधानको रक्षा र गणतन्त्र सुदृढीकरणमा सबै एकजुट हुन मुख्यमन्त्रीको अपिल

मोरङ, असोज ३ : संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले ऐतिहासिक संविधानको रक्षा र लोकतान्त्रिक गणतन्त्र सुदृढीकरणका लागि सबै राजनीतिक दल, नागरिक समाज र आम नेपाली जनतालाई एकढिक्का भएर अघि बढ्न आह्वान गरेका छन्।

मुख्यमन्त्री कार्कीले सात दशकभन्दा लामो संघर्ष र बलिदानको फलस्वरूप वि.सं. २०७२ साल असोज ३ गते संविधानसभाबाट जारी संविधान नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीको आधारस्तम्भ भएकाले यसको रक्षा र कार्यान्वयनमा सबैले हातेमालो गर्नुपर्नेमा जोड दिए।

Hardik ivf

यस अवसरमा उनले सहिदहरू प्रति श्रद्धाञ्जली अर्पण गर्दै भदौ २३ गते भ्रष्टाचार अन्त्य र सुशासन स्थापनाको माग गर्दै प्रदर्शनका क्रममा ज्यान गुमाएका युवाप्रति समेत हार्दिक श्रद्धाञ्जली व्यक्त गरे।

मुख्यमन्त्री कार्कीले कोशी प्रदेश सरकार संविधानको पालना, कानुनको शासन, सुशासन र पारदर्शिता कायम गर्दै भ्रष्टाचार निवारणमा प्रतिबद्ध रहेको उल्लेख गरे। साथै, सामाजिक–आर्थिक विकासलाई तीव्रता दिँदै समाजवादउन्मुख राष्ट्रिय अर्थतन्त्र निर्माण गर्नु अहिलेको प्रमुख अभिभारा भएको बताए।

संविधान कार्यान्वयनका क्रममा देखिएका चुनौती र समस्या समाधानका लागि आवश्यक परे संविधान संशोधनमार्फत अघि बढ्नुपर्नेमा जोड दिँदै उनले राजनीतिक स्थिरता, सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम गर्न सबैसँग आग्रह गरे।

युवाहरूको ऊर्जा, सिर्जनशीलता र सीपको सदुपयोग गरी समृद्ध नेपालको राष्ट्रिय आकांक्षा पूरा गर्न सरकार प्रतिबद्ध रहेको उनले स्पष्ट पारे।

संविधान दिवसले सबैलाई आवेग र उत्तेजनाभन्दा माथि उठेर राष्ट्रको सर्वोपरि हितलाई केन्द्रमा राखी विवेकसम्मत ढङ्गले अघि बढ्न प्रेरणा दिने विश्वास मुख्यमन्त्री कार्कीले व्यक्त गरे। प्रदेश सरकारले आज विभिन्न कार्यक्रम आयोजना गरी संविधान दिवस मनाएको छ।
 

प्रकाशित मिति: १२:३५ बजे, शुक्रबार, असोज ३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्