बाजुरा कारागारबाट १९ जना कैदीबन्दीको स्थानान्तरण
कारागार बाजुराको नयाँ भवन निर्माणका लागि ठेक्का प्रक्रिया भइसकेकाले कैदीबन्दीहरुलाई स्थानान्तरण गर्न थालिएको जिल्ला कारागार बाजुरामा प्रमुख जेलर अनिलकुमार तिवारीले बताए।-(11)-1758173827.jpg)
बाजुरा, असोज २ : जिल्ला कारागार बाजुराबाट १९ जना कैदीलाई स्थानान्तरण गरिएको छ। बाँकेस्थित क्षेत्रीय नौवस्ता कारागारमा १९ जना कैदीबन्दीलाई सारिएको हो।
कारागार बाजुराको नयाँ भवन निर्माणका लागि ठेक्का प्रक्रिया भइसकेकाले कैदीबन्दीहरुलाई स्थानान्तरण गर्न थालिएको जिल्ला कारागार बाजुरामा प्रमुख जेलर अनिलकुमार तिवारीले बताए।
पहिलो चरणमा १९ कैदीलाई नौवस्ता कारागार स्थानान्तरण गरिएको उनको भनाइ छ। अन्य बाँकी सबै कैदीबन्दीहरुलाई दसैँ अगाडि नै स्थानान्तरण गर्ने तयारी भइरहेको जेलर तिवारीले बताएका छन्।
कैदीलाई नौवस्तामा र थुनुवालाई अछाम जिल्ला कारागार सार्ने प्रक्रिया भइरहेको छ। दसैँ अगाडि नै सबै कैदीबन्दीहरुलाई स्थानान्तरण गरेर दसैँ लगत्तै भवन शिलान्यास गरी निर्माण कार्य अगाडि बढाइने कारागार बाजुराले जनाएको छ।
२०३७ सालमा निर्माण भएको कारागार बाजुराको भवन झण्डै ४५ वर्ष वर्ष पुगिसक्दा बल्ल नयाँ भवनको लागी काम सुरू हुने भएको हो।
नयाँ भवन नहुँदा क्षमता भन्दा बढि कैदीबन्दी राख्नुपर्ने बाध्यता थियो। २५ जना कैदीबन्दी क्षमता भएको कारागारमा करिब ६५ जना कैदी राखिएको थियो।
सुविधा सम्पन्न महिला पुरुष दुवैका लागि ७५ जना कैदीबन्दी बस्ने क्षमता भएको भवन निर्माण हुने भएको हो। कारागारको नयाँ भवन निर्माणका लागि यहीँ भदौ १९ गते ५ करोड ९८ लाख ४८ हजार ४ सय ९८ रुपैयाँमा ठेक्का सम्झौता भएको छ।
उक्त भवन निर्माणको जिम्मा डिबी बिएन एस जेभीले लिएको छ। २०८३ फागुन ३० गतेसम्म कारागारको भवन निर्माण कार्य सम्पन्न गरी सक्ने गरी जेभीले सघन शहरी तथा भवन निर्माण आयोजना राजपुर डोटीसँग ठेक्का सम्झौता गरेको छ।












