पुनःस्थापना र संरक्षणका लागि पुनः सक्रिय हुन कांग्रेसको आब्हान
उनले शान्ति, सुरक्षा, संबैधानिक व्यवस्था र लोकतान्त्रिक प्रक्रियाको संस्थागत पुनःस्थापनाका लागि राष्ट्रपतिको अगुवाइमा हुने संवाद र पहलमा नेपाली कांग्रेसले सक्रिय पहल गर्नपर्ने बताए।
काठमाडौं, भदौ २५ : नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाश शरण महतले लोकतान्त्रिक प्रक्रियाको पुनःस्थापना र संरक्षणका लागि सबै पुनः सक्रिय हुन आवश्यक रहेको बताएका छन्।
बुधबार उनले विज्ञप्ति जारी गर्दै उनले नेपाली कांग्रेस लोकतन्त्रको लागि सबैभन्दा भरपर्दाे शक्ति हो भन्ने दुबिधा नरहेको भन्दै पार्टीले अन्य लोकतन्त्र र संविधानप्रति प्रतिवद्ध दलहरुसंग तत्काल संवाद गर्न आवश्यक रहेको बताए।
उनले शान्ति, सुरक्षा, संबैधानिक व्यवस्था र लोकतान्त्रिक प्रक्रियाको संस्थागत पुनःस्थापनाका लागि राष्ट्रपतिको अगुवाइमा हुने संवाद र पहलमा नेपाली कांग्रेसले सक्रिय पहल गर्नपर्ने बताए।
‘हालै नवयुवा पुस्ताद्वारा आयोजित विरोध प्रदर्शनका क्रममा हुन नपर्ने दुःखद घटना भएकोप्रति नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गर्दछ । धेरै युवाहरु र केहि सुरक्षाकर्मीहरुले ज्यान गुमाउनुपरेको पीडादायी अवस्था हामी सबैकालागि अत्यन्त दुखदायी छ । मृतकहरुमा हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु। घाइतेहरूलाई शीघ्र स्वास्थ्यलाभको कामना व्यक्त गर्दै बिरोध प्रदर्शन क्रममा भएको धनजनको ठुलो क्षति प्रति गम्भीर चिन्ता प्रकट गर्दछु,’विज्ञप्तिमा भनिएको छ।
विज्ञप्तिमा अगाडि भनिएको छ,‘हिजो देशभर भएको तोडफोड, आगजनी र हिंसात्मक गतिविधिहरू शान्तिपूर्ण लोकतान्त्रिक बिरोधको मर्म र मान्यताबाट बाहिर गएको छ । देश,जनता र लोकतन्त्रप्रत प्रतिवद्द नवयुवाहरुले अवश्य पनि यस्तो चाहेका थिएनन । कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका जस्ता लोकतन्त्रका आधारभूत स्तम्भहरूमा समेत आगजनी हुनु गम्भीर छ। म लगाएत धेरैको घर निजी सम्पति, उधोगव्यावसाय, सन्चारगृह लगाएतमा भएको आगजनी, तोडफोड र लुटपाट अत्यन्त दुःखद र निन्दनीय छ । यो एक दिनको क्षति १० वर्षे माओवादीद्वन्दको बेला भन्दा धेरै बढी हो । यसले लगानीको बातावरणलाई पनि बिगारेको छ र क्षतिपुर्ती गर्न वर्षौ र ठुलो लगानी लाग्ने निश्चित छ । त्यस्तै, पार्टी सभापति शेरबहादुर देउवा लगायत अन्य नेताहरू माथि भएको सांघातिक आक्रमणको घोर निन्दा तथा भत्र्सना गरिएको छ।
‘देश अहिले राजनीतिक शून्यता र कानुनी अनिश्चिततामा छ। राष्ट्रपतिको समन्वयमा सुरक्षा निकायहरू सक्रिय भई शान्ति–सुरक्षा अमनचयन कायम हुन जरुरी छ,’ विज्ञप्तिमा भनिएको छ।












