एमाले विधान महाधिवेशन प्रतिनिधिका हातहातमा पूर्वराष्ट्रपति भण्डारीको पत्र
अधिवेशन हलको मुख्य गेटमा खटिएका युवा संघ र अनेरास्ववियुका नेता कार्यकर्ताहरुले भण्डारीको पत्र धमाधम बाँडिरहेका छन्। उद्घाटन मन्तव्यका क्रममा अध्यक्ष ओलीले भण्डारीको सदस्यताका विषयमा महाधिवेशनमा छलफल हुन नसक्ने स्पष्ट पारिसकेका छन्।
काठमाडौं, भदौ २० : नेकपा एमालेको विधान महाधिवेशन चलिरहँदा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लेखेको पत्र महाधिवेशन प्रतिनिधिहरुलाई बाँडिएको छ।
ललितपुरको गोदावरीस्थित सनराइज हलमा अधिवेशन सुरु भइसकेको छ । प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन मन्तव्य सकाएका छन्।
अधिवेशन हलको मुख्य गेटमा खटिएका युवा संघ र अनेरास्ववियुका नेता कार्यकर्ताहरुले भण्डारीको पत्र धमाधम बाँडिरहेका छन्। उद्घाटन मन्तव्यका क्रममा अध्यक्ष ओलीले भण्डारीको सदस्यताका विषयमा महाधिवेशनमा छलफल हुन नसक्ने स्पष्ट पारिसकेका छन्।
-1757063620.jpg)
पार्टी नेतृत्वमाथि आरोप
पूर्वराष्ट्रपति भण्डारीका नामबाट बाँडिएको पत्रमा पार्टी नेतृत्वले आफ्नो गहिरो आस्था र विश्वासमाथि कुठाराघात गरेको आरोप लगाइएको छ । केन्द्रीय कमिटीको नवौं पूर्ण बैठकले सदस्यता रोक्ने निर्णय गर्दै आफ्नो गहिरो आस्था र विश्वासमाथि कुठाराघात गरेको आरोप भण्डारीले नेतृत्वमाथि लगाएकी हुन्।
‘एमाले केन्द्रीय कमिटीको यही २०८२ साल साउन ५ र ६ गते बसेको बैठकको निर्णयको नाममा नवीकृत भैसकेको मेरो सदस्यतामाथि प्रश्न उठाइएकाले यस बारेमा केही कुरा राख्ने उद्देश्यले यो पत्र लेखिरहेको छु । त्यसो त मैले पार्टी सदस्यता नवीकरण गरेपछि पनि पार्टीको सचिवालय, स्थायी समिति र केन्द्रीय कमिटीका बैठकहरू आयोजना भएका थिए, त्यसबखत मेरो सदस्यताको सवालमा कुनै प्रश्न गरिएन, तर अहिले किन यस्तो विवादको घेरामा पारिया रु यो विषय पार्टी र सिंगो राष्ट्रकै निम्ति गम्भीर हो,’ भण्डारीको पत्रमा उल्लेख छ।
भण्डारीको पत्रमा आफ्नो जीवनको लामो समय देश, जनता र पार्टीका निम्ति अर्पण गरेको बताउँदै भण्डारीले महिला अधिकार, मानव अधिकार, न्याय र समानताका लागि आफूले निरन्तर आवाज उठाउँदै आएको स्मरण समेत गराएकी छन्।
उनले अनेकौं संघर्ष, कठिनाइ र चुनौतीसँग आफूले कहिल्यै हार नमानेको बताउँदै पार्टी सदस्यतामाथि उठाइएको प्रश्न आफ्ना निम्ति गम्भीर रूपमा खडा भएको पनि उल्लेख गरेकी छन् ।
‘आस्थामाथि कुठाराघात भयो’
पूर्व राष्ट्रपति भण्डारीले आफुले लेखेको पत्र आत्मरक्षाका लागि नभएर पार्टीको उज्ज्वल भविष्यका लागि रहेको स्मरण गराउँदै आफ्नो अश्थामाथि नै कुठाराघात भएको बताएकी छन् । ‘त्यसैले, तपाईंहरूले यस पत्रलाई आफ्नो अधिकारको रक्षा, पार्टीको सबलता, सुदृढ एवम् दिगो एकताको रूपमा बुझ्नुहुनेछ भन्ने गहिरो विश्वास लिएको छु,’ उनले भनेकी छन्।
पत्रमा स्कुले जीवनदेखि नै अनेकौं संघर्ष, त्याग र समर्पणको बाटो हिँडेर आफू यहाँ आइपुगेको र फेरि पनि बाँकी जीवन पार्टीमै आबद्ध भएर अगाडि बढ्ने अठोट गरेको उल्लेख छ।
‘म अहिले एउटा यस्तो परिवेशमा उभिएको छु, मैले २०३७ सालमा प्राप्त गरेको पार्टी सदस्यता जो मेरो गहिरो आस्था र विश्वासको प्रतीक समेत हो, त्यसमा कुठाराघात गर्ने प्रयास गरिएको छ। पार्टीले विशेष निर्णय गरेर देशको राष्ट्रपति हुन पठाएपछि कुशलतापूर्वक सो अभिभारा पूरा गरेर फर्किएँ र अब पार्टीमा नै संलग्न भएर अगाडि बढ्न चाहन्छु भन्दा पार्टी सदस्य हुनबाट रोक्ने प्रयास ज्यादै दुःखको विषय हो,’ भण्डारीले भनेकी छन्।
‘कुनै सदस्यले यस्तो भोग्नु नपरोस्’
पूर्वराष्ट्रपति भण्डारीले लेखेको पत्रमा यस्तो प्रश्न आफ्ना निम्ति मात्र नभएर कुनै पनि पार्टी सदस्यले भोग्नु हुँदैन भन्ने आफ्नो अडान रहेको समेत प्रष्ट गरिएको छ।
उनले पत्रमा जनताको बहुदलीय जनवाद (जबज) का प्रणेता जननेता मदन भण्डारीको ७४ औं जन्मजयन्तीको अवसर पारेर २०८२ साल असार १४ गते पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली प्रमुख अतिथि बनेर मदन भण्डारी फाउण्डेशनले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा पार्टी सदस्यता नवीकरण भइसकेको र आफू नेकपा (एमाले) परिवारको पुनः सदस्य हुन पाएकोमा गर्व गर्दै बाँकी जीवन पार्टी मार्फत देश र जनताको सेवामा समर्पित गर्ने घोषणा गरेको स्मरण गराएकी छन्।
यो विषय पार्टी अध्यक्ष ओलीसँग भेट हुँदा मदन जयन्ती समारोहमा पार्टी सदस्यता नवीकरण गरेको कुरा आफूले सार्वजनिक गर्ने बताएको समेत उल्लेख गरेकी छन्।
७५औं मदन जयन्तीका अवसरमा वैचारिक र रचनात्मक कार्यक्रम घनिभूत रूपमा सञ्चालन गर्नका लागि एउटा समिति गठन गर्ने विषयमा कुरा समेत भएको भण्डारीले उल्लेख गरेकी छन्।
पत्रमा अघि भनिएको छ, ‘अनि उक्त कार्यक्रममा मैले विधिवत रूपमा आफूले पार्टीको सदस्यता नवीकरण गरिसकेकोले त्यस विषयलाई सार्वजनिक गर्दै नेपाली क्रान्तिको मार्गदर्शक सिद्धान्त जबजको अजेयता, देशमा सामाजिक–आर्थिक रूपान्तरण प्रक्रियालाई तीव्र पार्नुपर्ने सन्दर्भ, पार्टीलाई थप सुदृढ तुल्याउनुपर्ने विषय र हाम्रो पार्टीको सुन्दर भविष्यको बारेमा त्यस कार्यक्रममा सम्बोधन गर्दै स्पष्ट पारेको थिएँ।’

-1760269022.jpg)



-1771243509.jpg)





-1771243509.jpg)
