Kathmandu Press

बीमामार्फत प्रदान हुने आठ कडा रोगको एकीकृत सुविधा कार्तिकदेखि

यो सुविधा कार्तिक १ गतेबाट स्वास्थ्य बीमा प्रणालीमार्फत मात्र उपलब्ध हुने भएकाले हाल उपचार सेवा लिइरहेका वा नयाँ सेवा लिन चाहने सबै विपन्न नागरिकले अनिवार्य रूपमा स्वास्थ्य बीमामा आबद्ध हुनुपर्ने मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताएका छन्।
बीमामार्फत प्रदान हुने आठ कडा रोगको एकीकृत सुविधा कार्तिकदेखि

काठमाडौं, भदौ २० : स्वास्थ्य बीमामा आबद्ध भएका नागरिकहरूले आठ प्रकारका कडा रोगको उपचार तथा विपन्न नागरिकको एकीकृत सुविधा आउँदो कार्तिक १ गतेदेखि पाउने भएका छन्।

मन्त्रालयले सामाजिक स्वास्थ्य सुरक्षाका कार्यक्रमहरूलाई एकीकृत गर्ने निर्णयअनुसार आगामी कार्तिकदेखि यो व्यवस्था लागू गर्न लागेको हो।

Hardik ivf

एकीकृत सुविधाको कार्यान्वयनका लागि मन्त्रालयले हालसालै ‘विपन्न नागरिक औषधि उपचार कार्यक्रम सञ्चालन निर्देशिका २०८२ (पहिलो संशोधन) स्वीकृत गरेका थियो। संशोधित निर्देशिकाअनुसार, विपन्न नागरिकले पाउँदै आएको उपचार सुविधाको सम्पूर्ण भुक्तानी स्वास्थ्य बीमा बोर्डमार्फत हुने व्यवस्था गरिएको थियो। 

यो सुविधा कार्तिक १ गतेबाट स्वास्थ्य बीमा प्रणालीमार्फत मात्र उपलब्ध हुने भएकाले हाल उपचार सेवा लिइरहेका वा नयाँ सेवा लिन चाहने सबै विपन्न नागरिकले अनिवार्य रूपमा स्वास्थ्य बीमामा आबद्ध हुनुपर्ने मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताएका छन्। 

‘अब विपन्न नागरिकले ८ कडा रोगको उपचार सुविधा लिन स्वास्थ्य बीमा अनिवार्य गरिएको छ र यो सुविधा कार्तिक १ गतेबाट बीमा प्रणालीमार्फत मात्र उपलब्ध हुनेछ,’ उनले भने ‘हाल उपचाररत बिरामीहरूको सेवा निरन्तर होस् भनेर हामीले आउँदो असोज मसान्तभित्र बीमामा दर्ता भइसक्न अनुरोध गरेका छौँ। यो व्यवस्थाले छरिएर रहेका कार्यक्रमलाई एकद्वार प्रणालीमा ल्याई राज्यको स्रोतको सही उपयोग सुनिश्चित गर्छ।’

मन्त्रालयले सेवाको निरन्तरता सुनिश्चित गर्न हालका सेवाग्राहीहरूलाई आउँदो असोज मसान्तभित्र बीमामा दर्ताको व्यवस्था मिलाउन निर्देशन दिँदै स्वास्थ्य बीमा बोर्ड र नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखालाई पत्र पठाइसकेको छ। 

प्रकाशित मिति: १४:१५ बजे, शुक्रबार, भदौ २०, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्