‘कला, संस्कृति र सम्पदाको संरक्षण एवम विकासलाई प्राथमिकता दिनुपर्छ’
राष्ट्रपति पौडेलले देशका विभिन्न क्षेत्रका प्राचिन र ऐतिहासिक धरोहर, कला, सांस्कृतिक सम्पदा एवम् गतिविधिको अध्ययन, अनुसन्धान र अवलोकन गर्न वर्षेनी लाखौ पर्यटक नेपाल भित्रिने भन्दै यसको संरक्षणको लागि सम्पदाप्रेमीहरू सदैव चनाखो हुनुपर्ने बताए।
काठमाडौं, भदौ २० : राष्ट्रपति रामचन्द्र पौडेलले नेपाललाई विश्वमा चिनाउने प्राचीन र ऐतिहासिक धरोहर, कला, संस्कृति र सम्पदाको संरक्षण र विकासलाई सरकारले प्राथमिकता दिनुपर्ने बताएका छन्।
नेपाल कला परिषद बबरमहलमा आयोजित नेपाल कला तथा संस्कृति महोत्सव २०८२ का अवसरमा आयोजित चित्रकला प्रर्दशनीको उद्घाटन गर्दै राष्ट्रपति पौडेलले लोकतान्त्रिक शासन प्रणालीमा प्राप्त अवसरको उपयोग गरी हाम्रो भाषा, कला र संस्कृतिको विकास, विस्तार र संरक्षणमा हामी सबै क्रियाशील हुनुपर्ने बताए।
‘लोकतान्त्रिक शासन प्रणालीमा नै सबै क्षेत्र, वर्ग र पेशाको उन्नति र प्रगतिको समान अवसर प्राप्त हुन्छ। लोकतन्त्रको सुन्दर पक्ष नै यही हो,’ उनले भने, ‘त्यसैले, यही शासन प्रणालीमा प्राप्त अवसरको उपयोग गरी हाम्रो भाषा, कला र संस्कृतिको विकास, विस्तार र संरक्षणमा हामी सबै क्रियाशील हुनुपर्छ।’
राष्ट्रपति पौडेलले देशका विभिन्न क्षेत्रका प्राचिन र ऐतिहासिक धरोहर, कला, सांस्कृतिक सम्पदा एवम् गतिविधिको अध्ययन, अनुसन्धान र अवलोकन गर्न वर्षेनी लाखौ पर्यटक नेपाल भित्रिने भन्दै यसको संरक्षणको लागि सम्पदाप्रेमीहरू सदैव चनाखो हुनुपर्ने बताए।
उनले नेपाली कला, संस्कृति र सम्पदाको अद्वितीय पुँजीप्रति स्वदेशी, विदेशी पर्यटक र व्यवसायीहरूको ध्यान आकर्षित गर्न यसको स्वदेश तथा विदेशमा व्यापक प्रचारप्रसार गर्न सके पर्यटकहरूको आगमनबाट मुलुकको समृद्धिमा योगदान पुग्ने उल्लेख गरे।
नेपालका कलाकृति तथा सांस्कृतिक सम्पदाहरूको ख्याति विश्वभरि नै रहेको उल्लेख गर्दै नेपालीे सभ्यताको परिसूचकको रुपमा रहेको हाम्रो कला र संस्कृतिले विश्वमा विशिष्ट स्थान ओगट्न सफल हुनु गौरवको विषय भएको बताए। नेपाली भाषा, कला, संस्कृति र सम्पदा हाम्रो शान, पहिचान र वैभव भएको राष्ट्रपति पौडेलको भनाई थियो।
राष्ट्रपति पौडेलले देशको पर्यटन क्षेत्रको दिगो विकासको आधारशीला तयार हुने आफूले अपेक्षा गरेको भन्दै नेपाली कला, संस्कृति र सम्पदाको अद्वितीय पुँजीप्रति स्वदेशी, विदेशी पर्यटक र व्यवसायीहरूको ध्यान आकर्षित गर्न यसको स्वदेश तथा विदेशमा व्यापक प्रचारप्रसार गर्न सके पर्यटकहरूको आगमनबाट मुलुकको समृद्धिमा योगदान पुग्ने विश्वास पनि व्यक्त गरेका छन्।

-1760269022.jpg)



-1771243509.jpg)





-1771243509.jpg)
