Kathmandu Press

एमालेको दोस्रो विधान महाधिवेशन भाद्र २० देखि गोदावरीमा हुने

अधिवेशनमा २०२६ जना प्रतिनिधि र ३१५ जना आयोजक गरी कुल २३४१ जना सहभागी हुनेछन्।
एमालेको दोस्रो विधान महाधिवेशन भाद्र २० देखि गोदावरीमा हुने

काठमाडौं, भदौ १८ : नेकपा एमालेको दोस्रो विधान महाधिवेशन भाद्र २० गतेदेखि ललितपुरको गोदावरीस्थित सनराइज हलमा सुरु हुँदैछ। 

ऐतिहासिक रूपमा लिइएको यो अधिवेशन पार्टीको सांगठानिक सुदृढीकरण र भावी कार्यदिशा निर्धारणमा केन्द्रित हुनेछ।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले महाधिवेशनको समुद्घाटन ११ बजे विशेष समारोहबीच गर्ने कार्यक्रम रहेको केन्द्रीय कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। अधिवेशनमा २०२६ जना प्रतिनिधि र ३१५ जना आयोजक गरी कुल २३४१ जना सहभागी हुनेछन्।

Hardik ivf

‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल, सुखी नेपाली हाम्रो राष्ट्रिय गन्तव्य’ भन्ने मूल नाराका साथ आयोजना हुने महाधिवेशनका लागि सबै तयारी पूरा भएको पार्टीले जानकारी दिएको छ। मञ्च सजावटदेखि स्वयंसेवक व्यवस्थापन, स्वास्थ्य सेवा, यातायात र झाँकी प्रदर्शनसम्मका व्यवस्थापन कार्य सम्पन्न भइसकेका छन्।

अधिवेशनमा पार्टी अध्यक्ष ओलीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक परिस्थितिको विश्लेषणसहितको राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन्। उक्त प्रतिवेदनमा नेपाली विशेषतासहितको समाजवाद स्थापनाको खाका र पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति बनाउने रोडम्याप समेटिएको छ।

पार्टी उपाध्यक्ष तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव प्रस्तुत गर्नेछन्, जसमा पार्टी सदस्यता वर्गीकरण, ७० वर्षे उमेर सीमा नराख्ने, २५१ सदस्यीय केन्द्रीय कमिटी, एकतिहाइ पोलिटब्यूरो र १५ पदाधिकारीको स्थायी कमिटी रहने लगायतका व्यवस्थाहरू प्रस्तावित छन्। पदाधिकारीमध्ये कम्तीमा एकजना महिला अनिवार्य हुने व्यवस्था प्रस्तावमा उल्लेख गरिएको छ।

महासचिव शंकर पोखरेलले संगठनात्मक प्रतिवेदन प्रस्तुत गर्ने छन्, जसमा पार्टी निर्माणमा देखिएका चुनौती र समाधानका उपायहरू, समाजमा पार्टीप्रति विश्वास जगाउने रणनीति र पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्ने योजना समेटिएको छ।

महाधिवेशनमा पार्टीका विभिन्न आयोग र परिषद्का प्रतिवेदन पनि प्रस्तुत हुनेछन्।  महाधिवेशनलाई व्यवस्थित र भव्य रूपमा सम्पन्न गर्न विभिन्न उपसमिति गठन गरिएको छ। 

प्रतिनिधि व्यवस्थापन, आवास, स्वास्थ्य, प्रचार, सांस्कृतिक कार्यक्रम, स्वयंसेवक परिचालन, खाद्य र सचिवालय व्यवस्थापन, स्वागत गेट निर्माण जस्ता पक्षमा जिम्मेवारी बाँडफाँड गरिएको छ।

केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमद्वारा जारी विज्ञप्तिमा पत्रकारहरूलाई महाधिवेशनको सफलताको लागि सहकार्य गर्न आग्रह गरिएको छ।
 

प्रकाशित मिति: १५:४९ बजे, बुधबार, भदौ १८, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्