Kathmandu Press

विधेयक निर्माणमा भएको त्रुटिप्रति सांसदहरुले गरे आत्मसमीक्षा

‘समितिको काम ठिक ढंगले गरेनौं भन्ने आत्मासमीक्षा मैले गरेको छु। संसदमा अवसर पनि मिलेको थियो राम्रोसँग हेर्नुपर्दथ्यो, तर त्यो गरेनौं। आगामी दिनमा सबैले यसलाई गम्भीर पाठको रुपमा लिएर जानुपर्छ,’ उनले भने।
विधेयक निर्माणमा भएको त्रुटिप्रति सांसदहरुले गरे आत्मसमीक्षा

काठमाडौं, भदौ १७ : राज्य व्यवस्था तथा सुशासन समितिका सदस्यहरूले विधेयक निर्माणमा विगतमा भएका गल्तीप्रति आत्मासमीक्षा गर्दै यसमा सबैजना जिम्मेवार बन्नुपर्ने बताएका छन्। 

मंगलबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनीहरुले विधेयक निर्माणमा भएको त्रुटिको आत्मसमीक्षा गरेका हुन्। 

बैठकमा माओवादी केन्द्रका सांसद हितराज पाण्डेले समितिको काम ठिक ढंगले भएन भन्ने आत्मासमीक्षा आफूले गरेको बताए । विगतको विधेयकमा भएको त्रुटिलाई गम्भीर पाठको रुपमा लिएर अगाडि जानुपर्ने उनको भनाइ छ। 

Hardik ivf

‘समितिको काम ठिक ढंगले गरेनौं भन्ने आत्मासमीक्षा मैले गरेको छु। संसदमा अवसर पनि मिलेको थियो राम्रोसँग हेर्नुपर्दथ्यो, तर त्यो गरेनौं। आगामी दिनमा सबैले यसलाई गम्भीर पाठको रुपमा लिएर जानुपर्छ,’ उनले भने।

उनले समितिमा विचाराधीन रहेका विधेयक तत्काल अघि बढाउन आवश्यक रहेको पनि बताए। 

नेपाली कांग्रेसका सांसद गगन थापाले विधेयकमा भएको त्रुटिमा आफूलगायत समितिका सांसदहरु उत्तिकै जिम्मेवार बन्नुपर्ने धारणा राखे। यो अनुभवले समितिको कामलाई अझ निखार्न महत्वपूर्ण भूमिका खेल्ने उनको भनाई छ। 

‘विधेयकमा जुन त्रुटि भयो, यसमा म लगायत यो समितिका सांसदहरु उत्तिकै जिम्मेवार हुनुपर्छ। यो अनुभवले हामीलाई र हाम्रो कामलाई अझ निखार्न पनि महत्वपूर्ण भूमिका खेल्नेछ,’ उनले भने।

त्यसैगरी नेकपा एमालेका सांसद पदम गिरीले निश्चित समय तोकेर विधेयक अघि बढाउन सुझाए। 
‘निश्चित समय तोकेर विधेयक अघि बढाउनुपर्छ, त्यो नभएसम्म नागरिकको गुनासो आइरहन्छ। अरुलाई सुशासनको पाठ पढाउने तर हामीले पालना नगर्ने भन्ने हुनुहुँदैन’, उनले भने। 

 

प्रकाशित मिति: १९:१८ बजे, मंगलबार, भदौ १७, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्