अदालतको फैसलाविरुद्ध जनतासमक्ष जान्छौं : राजेन्द्र महतो
विराटनगर, फागुन २३ : राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले जनताले निर्वाचित गरेको सांसदलाई अदालतबाट जन्मकैद फैसला भएकोमा त्यसविरुद्ध ....
विराटनगर, फागुन २३ : राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले जनताले निर्वाचित गरेको सांसदलाई अदालतबाट जन्मकैद फैसला भएकोमा त्यसविरुद्ध जनतासक्षम जाने बताएका छन् ।
बिहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले अधिकार प्राप्तिका लागि भएको सबै आन्दोलनमा सहभागी नेतालाई सजाय हुने भए विगतका सबै आन्दोलनका सहभागीलाई सजाय हुनुपर्ने तर्क गरे । टीकापुर घटनामा रेशम चाैधरीलाई जन्मकैदकाे फैसलाप्रति उनकाे असन्तुष्टि थियाे । ‘अब अदालतको फैसलाविरुद्ध जनतासमक्ष जान्छौं,’ महतोले भने ।
वर्तमान संविधानप्रति अहिले पनि आदिवासी, थारू र मधेशी समुदायका असन्तुष्टि रहेको उल्लेख गर्दै महतोले अधिकार प्राप्तिका लागि आन्दोलन जारी रहेको बताए ।
उनले समान विचारधारा मिल्ने पार्टीसँग मोर्चाबन्दी गरी संविधानमा पिछडिएका जनताको अधिकार प्राप्तका लागि शान्तिपूर्ण आन्दोलन केही दिनभित्र शुरु गर्ने बताए ।
यसैगरी अर्का अध्यक्ष मण्डलका सदस्य शरदसिंह भण्डारीले सांसदलाई फौज्दारी अभियोग लगाई न्याय सम्पादन गर्दा जनतामा वितृष्णा आउने बताए । उनले मधेश आन्दोलन र थारूहट आन्दोलन छानबिन आयोगको प्रतिवेदन सार्वजनिक गरेमा सबै सत्यतपथ्य जनताले थाहा पाउने बताए ।
सप्तरीको मलेठको कार्यक्रमका लागि पार्टीका अध्यक्ष मण्डलका सदस्य महतो, भण्डारी र महेन्द्र राय यादव आज विराटनगर आएका हुन् ।






