दीपेन्द्र एसए टि–२० को अक्सनमा समावेश
दक्षिण अफ्रिका क्रिकेटले चौथो सिजनको लिगको अक्सनका लागि सर्वाजनिक गरेको खेलाडीको सूचीमा दीपेन्द्रको पनि नाम अटाएको छ।
काठमाडौं, भदाै १६ : नेपाली क्रिकेट टिमका उपकप्तान तथा स्टार अलराउन्डर दीपेन्द्रसिंह ऐरी दक्षिण अफ्रिकामा आयोजना हुने ‘एसए टि–२०’ लिगको अक्सन सूचीमा परेका छन्।
दक्षिण अफ्रिका क्रिकेटले चौथो सिजनको लिगको अक्सनका लागि सर्वाजनिक गरेको खेलाडीको सूचीमा दीपेन्द्रको पनि नाम अटाएको छ।
नेपालबाट दीपेन्द्र मात्र लिस्टमा छन्। एसए टि–२०मा पहिलो पटक नेपाली खेलाडी अक्सनमा समावेश भएका हुन्।
२५ वर्षीय दीपेन्द्रले यसअघि ग्लोबल टि–२० लिग क्यानडा, आइएल टि–२० लिगमा आबद्ध भइसकेका छन्। ग्लोबल टि–२० लिगमा लागातार दुई सिजन उनी खेलेका थिए भने आईएल टि–२० लिगमा पनि दुई नै रहेन पनि खेल्ने अवसर भने पाएका थिएनन्।
नेपालका लागि ८२ टि–२० अन्तर्राष्ट्रिय खेलेका उनले १ शतक र ९ अर्धशतक मद्दतमा १८२३ रन बनाउनुका साथै ५२ विकेट लिएका छन्। उनीसँग टि–२० अन्तर्राष्ट्रियमा ९ बलमा अर्धशतक बनाउने कीर्तिमान छ। उनले टि–२० अन्तर्राष्ट्रियमा एकै ओभरमा ६ छक्का पनि प्रहार गरेका छन्।
सेप्टेम्बर ९ मा जोहानेसवर्गमा हुने अक्सनका लागि दीपेन्द्रसँगै ५४१ बढी खेलाडी सूचीमा छन्। जसमा ३ सय दक्षिण अफ्रिकाकै खेलाडी छन् भने २४१ जना विदेशी खेलाडी छन्।
लिग डिसेम्बर २६ बाट सुरु हुनेछ। जसमा कुल ६ टिम सहभागी छन्।












