‘सबै क्षेत्रमा महिलाको समान सहभागिता नभएसम्म समृद्ध नेपाल असम्भव’
उनले मुलुकमा बढ्दै गएको परनिर्भरतालाई कम गर्न स्थानीय उत्पादनमा जोड दिनुका साथै स्वदेशी उत्पादनको उपभोगमा सबैले जोड दिनुपर्ने बताइन्। साथै उद्यमशील महिलालाई सरकारले प्रोत्साहित गर्न आवश्यक रहेको पनि उनको भनाइ थियो।
पर्सा, भदौ १४ : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले उद्योग–व्यवसायीलगायत सबै क्षेत्रमा महिलाको समान सहभागिता नभएसम्म समृद्ध नेपाल बनाउन नसकिने धारणा व्यक्त गरेकी छन्।
उनले उद्योग, वाणिज्य, शिक्षा, स्वास्थ्य र राजनीतिमा महिलालाई अवसर प्रदान नगरेसम्म समृद्ध नेपालको सपना साकार हुनै नसक्ने विचार व्यक्त गरेकी हुन्।
‘नारी : शक्ति, समर्पण र सम्मान’ भन्ने मुख्य नारासहित वीरगन्ज उद्योग वाणिज्य संघले शनिबार वीरगन्जमा आयोजना गरेको ‘बृहत महिला सम्मेलन २०८२’ को उद्घाटन गर्दै पूर्वराष्ट्रपति भण्डारीले अवसरबाट वञ्चित पारिएका महिलालाई निर्णय तहसम्म पुग्ने वातावरण बनाएपछि मात्र मुलुक दिगो समृद्धितर्फ उन्मुख हुने धारणा राखिन्।
उनले मुलुकमा बढ्दै गएको परनिर्भरतालाई कम गर्न स्थानीय उत्पादनमा जोड दिनुका साथै स्वदेशी उत्पादनको उपभोगमा सबैले जोड दिनुपर्ने बताइन्। साथै उद्यमशील महिलालाई सरकारले प्रोत्साहित गर्न आवश्यक रहेको पनि उनको भनाइ थियो।
वीरगन्ज उद्योग वाणिज्य संघकी महिला उद्यमशीलता समितिकी अध्यक्ष एवम् कार्यक्रम संयोजक डा.लक्ष्मी थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सम्बोधन गर्दै पूर्वराष्ट्रपति भण्डारीले चुरे क्षेत्रको अत्यधिक दोहनका कारण अहिले तराई–मधेसका जिल्लामा जलसंकट देखा परेको ठोकुवा गरिन्।
लामो समयदेखि चुरे क्षेत्रका प्राकृतिक स्रोतको दोहनका कारण तराइका जिल्ला मरुभूमिमा रुपान्तरण हुँदै गएको र सर्वसाधारणलाई खानेपानी तथा किसानलाई कृषि प्रयोजनका लागि पानी अभाव भएको उनले स्पष्ट पारिन्।
तराईमा देखिएको जलसंकटलाई सरकारले गम्भीरतापूर्वक लिएर चुरेको संरक्षणमा लाग्नुपर्ने सुझाव पनि पूर्वराष्ट्रपति भण्डारीले दिइन्।












