प्रधानमन्त्री ओली चीन प्रस्थान
उनले सांघाई सहयोग सङ्गठन (एससिओ) को शिखर सम्मेलन २०२५ मा औपचारिक सहभागिता जनाउन ओली चीन प्रस्थान गरेका हुन्।-(42)-1756530539.jpg)
काठमाडौं, भदौ १४ : प्रधानमन्त्री केपी ओली औपचारिक भ्रमणका लागि चीन गएका छन्। चीनका राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा प्रधानमन्त्री ओली पाँचदिने भ्रमणका लागि शनिबार चीन गएका हुन्।
उनले सांघाई सहयोग सङ्गठन (एससिओ) को शिखर सम्मेलन २०२५ मा औपचारिक सहभागिता जनाउन ओली चीन प्रस्थान गरेका हुन्।
भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले तियानजिनमा जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गर्ने, प्रधानमन्त्री ओलीले सेप्टेम्बर १ मा तियानजिनमा हुने साङ्घाई शिखर सम्मेलनलाई सम्बोधन गर्नुका साथै सम्मेलनको अवसरमा विश्वका राष्ट्रप्रमुख तथा सरकार प्रमुखसँग भेटवार्ता गर्ने कार्यसूची रहेको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा प्रधानमन्त्री ओलीलाई उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा तथा मुख्यसचिव एकनारायण अर्यालले बिदाइ गरेका छन्।
प्रधानमन्त्री ओलीसँग उनकी धर्मपत्नी श्रीमती राधिका शाक्य, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, नेपाली कांग्रेसका सांसद पूर्णबहादुर खड्का, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा युवराज खतिवडा, नेकपा (एमाले) का सांसद छविलाल विश्वकर्मा र उच्चस्तरीय सरकारी अधिकारीहरू रहने मन्त्रालयले जनाएको छ।












