मनाङमा प्रदेश सभाको उपनिर्वाचन कात्तिक १७ मा हुने
सर्वोच्च अदालतको अन्तिम फैसलाबाट प्रदेश सभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) पदमुक्त भएपछि उपनिर्वाचन हुन लागेको हो।
काठमाडौं, भदौ १३ : निर्वाचन आयोगले मनाङ प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ (२) मा उपनिर्वाचनको मिति तय गरेको छ।
आयागले आगामी कात्तिक १७ गते उपनिर्वाचनको मिति तय गरेको हो। सर्वोच्च अदालतको अन्तिम फैसलाबाट प्रदेश सभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) पदमुक्त भएपछि उपनिर्वाचन हुन लागेको हो।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार आयोगको शुक्रबार बसेको बैठकले आगामी कात्तिक १७ गते मनाङमा उपनिर्वाचन गर्ने निर्णय गरेको छ। प्रदेश सभाको कार्यकाल ६ महिनाभन्दा बढी अवधि बाँकी रहँदा उपनिर्वाचन गर्ने संवैधानिक व्यवस्था रहेको छ।
सर्वोच्च अदालतले ज्यानमार्ने उद्दाग मुद्दामा मनाङेलाई प्रदेशसभा सदस्यको हैसियतमा पदमा बस्न अयोग्य रहेको फैसला सुनाएको थियो। सर्वोच्चको संवैधानिक इजलासले मनाङेलाई गत २० कात्तिक २०८१ देखि प्रदेशसभा सदस्यको रूपमा अयोग्य ठहर गरेको हो।
कात्तिक १७ कै दिन रुपन्देही–३ मा पनि उपनिर्वाचन हुँदैछ। राप्रपाका नेता दीपक बोहोराको निधन भएपछि यहाँ उपनिर्वाचन हुन लागेको हो।












