Kathmandu Press

नापी अधिकृतको ६ करोड अवैध सम्पत्ति, अदालतमा ‘अकुत’को अभियोग 

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राजनीतिक व्यक्ति र माथिल्लो विभागीय प्रमुखलाई प्रभावमा पारेर नापी अधिकृत प्रमुख रहने दरबन्दी रिक्त बनाएर वर्षौंसम्म निमित्त कार्यालय प्रमुखका रूपमा रही यादवले अकुत सम्पत्ति आर्जन गरेको निश्कर्ष निकालेको छ। 
नापी अधिकृतको ६ करोड अवैध सम्पत्ति, अदालतमा ‘अकुत’को अभियोग 

काठमाडौँ, भदौ १३ : सार्वजनिक जग्गा व्यक्तिका नाममा दर्ता गरी गैरकानुनी सम्पत्ति (अकुत) आर्जनको अभियोगमा नापी कार्यालय भैरहवाका नापी अधिकृत सुग्रीव यादवविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राजनीतिक व्यक्ति र माथिल्लो विभागीय प्रमुखलाई प्रभावमा पारेर नापी अधिकृत प्रमुख रहने दरबन्दी रिक्त बनाएर वर्षौंसम्म निमित्त कार्यालय प्रमुखका रूपमा रही यादवले अकुत सम्पत्ति आर्जन गरेको निश्कर्ष निकालेको छ। 

अख्तियारले यादव सार्वजनिक पदमा प्रवेश गरेको २०५३ असार १३ गतेदेखि २०८१ असार १६ गतेसम्मको अवधिको सम्पत्ति परीक्षण गर्दा यस्तो अवस्था देखिएको हो। 

यस अवधिमा यादवले विभिन्न आयमार्फत ९ करोड तीन लाख ९५ हजार चार सय ४४ रुपैयाँ बराबर वैध सम्पत्ति आर्जन गरेको दाबी अख्तियारको छ। अख्तियारले परिक्षण गरेको अवधिमा यादवले १४ करोड ८३ लाख ५७ हजार आठ सय ८४ रुपैयाँ बराबरको खर्च तथा लगानी गरेको देखिएको छ। 

यसरी वैध आय र खर्चबीच पाँच करोड ७९ लाख ६२ हजार चार सय ४० रुपैयाँ बराबरको सम्पत्तिको स्रोत नखुलेपछि भ्रष्टाचार निवारण ऐन, २०५९ अनुरुप सजायको माग राखेर मुद्दा चलाइएको हो। 

गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति यादवले श्रीमती गायत्री यादव, छोराहरू सुधान्सु यादव र शुभम यादवका नाममा राखेको पाइएको अभियोग दाबी छ। 

प्रकाशित मिति: १९:०१ बजे, शुक्रबार, भदौ १३, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्