‘लिपु लेक, लिम्पियाधुराको बारे संयुक्त राष्ट्र संघमा कुरा उठाउन सरकारलाई खबरदारी’
सांसद शाहीले सत्ता पक्षका सांसदहरु माइतीघर मण्डलामा आन्दोलनरत उखु किसानहरुसँग फोटो सेशन गरिरहेका भन्दै सबै एकजुट भएर किसानको रकम उपलब्ध गराउन र सदनमा नै फोटो सेशन गर्न पनि आग्रह गरेका छन्।
काठमाडौं, भदौ १३ : राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले संयुक्त राष्ट्र संघमा लिपु लेक, लिम्पियाधुराको बारेमा कुराहरु हुनुपर्ने भन्दै सरकारलाई खबरदारी गरेका छन्।
शुक्रबार प्रतिनिधि सभाको बैठकमा उनले प्रधानमन्त्री चीन र भारतको भ्रमणमा जादा लिपु लेक, लिम्पिया धुरा बारे भारत दक्षिणसँग प्रधानमन्त्री स्तरिय वार्ता गर्नुपर्ने भन्दै संयुक्त राष्ट्र संघमा पनि यसबारे कुरा उठ्नु पर्ने बताए।
‘प्रधानमन्त्री ज्यू चीन र भारतको भ्रमणमा जादैँ हुनुहुन्छ भन्ने कुरा सुनेको छु। लिपु लेक, लिम्पियाधुरा बारे भारत दक्षिणसँग प्रधानमन्त्री स्तरिय वार्ता गर्नुपर्छ र यो वार्ता गर्न हामी अपिल गर्न चहान्छौं। नेपाल संयुक्त राष्ट्र संघको सदस्य १९५५ डिसेम्बर १४ मा भएको हो,’ उनले भने, ‘यसको अर्थ चीनभन्दा अगाडि नेपाल संयुक्त राष्ट्र संघको सदस्य छ। संयुक्त राष्ट्र संघमा नेपालको प्रतिनिधित्व पनि छ तर संयुक्त राष्ट्र संघमा आजसम्म यो कुरा किन उठाइएको छैन् । सरकारलाई हामी खबरदारी गर्न चाहान्छौ संयुक्त राष्ट्र संघमा लिपु लेक, लिम्पियाधुराको बारेमा कुराहरु उठोस्।’
सांसद शाहीले सत्ता पक्षका सांसदहरु माइतीघर मण्डलामा आन्दोलनरत उखु किसानहरुसँग फोटो सेशन गरिरहेका भन्दै सबै एकजुट भएर किसानको रकम उपलब्ध गराउन र सदनमा नै फोटो सेशन गर्न पनि आग्रह गरेका छन्।
‘उखु किसानहरु माइतीघर मण्डलामा आन्दोलनरत छन्। सत्ता पक्षकै मान्यहरु माइतीघरमा गएर फोटो सेशन गरिरहेका छन्। त्यो गर्नुपरेन यही आउ नीति नियम बनाउ सबै एकजुट बनौ किसानको रकम उपलब्ध गराउ र सदनमा नै फोटो सेशन गरौं पनि भन्न चहान्छु,’ उनले भने।












