जलाउँदै गरेको शवको हड्डी किनबेच गर्ने चार प्रतिबादीको अदालतमा बयान
आधा शव जल्दै गरेको अवस्थामा जिवनाथले टाउकाको हड्डी निकालेर मैनालीलाई दिएको प्रहरी अनुसन्धानबाट खुलेको छ।
काठमाडौं, भदौ १२ : आर्यघाटमा जलाउँदै गरेको शवको हड्डी निकालेर किनबेच गरेको आरोपमा मुद्दा चलाइएका चारजना अभियुक्तको बिहीबार जिल्ला अदालत काठमाडौंमा बयान लिइएको छ।
जिल्ला सरकारी वकीलको कार्यालय, काठमाडौंले प्रहरी अनुसन्धानका आधारमा सर्लाहीको लालबन्दी नगरपालिका–२ घर भएका ४२ वर्षीय रामनन्दन ठाकुर, काभ्रेको मण्डनदेउपुरका ६१ वर्षीय गणेशप्रसाद भनिने जीवनाथ ढकाल, उदयपुरको कटारी नगरपालिका–८ का २४ वर्षीय विनायक मैनाली र सप्तरीको वलानबिहुल गाउँपालिका–६ का ४१ वर्षीय मिश्रीलाल यादवलाई प्रतिबादी बनाउँदै सजायको मागसहित मुद्दा दर्ता गरेको थियो।
उनीहरुको बयान सकिएपछि थुनछेक वहश हुने छ। उनीहरुविरुद्ध धर्मसम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको छ।
आधा शव जल्दै गरेको अवस्थामा जिवनाथले टाउकाको हड्डी निकालेर मैनालीलाई दिएको प्रहरी अनुसन्धानबाट खुलेको छ। मैनालीले उक्त हड्डी कपुरको बट्टामा हालेर रामनन्दन र उनको सहयोगी मिश्रीलाललाई दिँदै बेचेको अभियोग दाबी छ।
उनीहरु सबैलाई मुलुकी फौजदारी अपराध संहिताको धर्मसम्बन्धी कसुरमा मुद्दा चलाइएको हो । ढकाल, मैनाली, ठाकुर र यादवविरुद्ध उक्त संहिताको दफा १५७ (१) को कसुर गरेको दाबी छ । उक्त दफा अनुसार कसैले सनातनदेखि अपनाउँदै वा चली आएको धार्मिक रिती–स्थितिमा जानी जानी बाधा पु¥याउन नहुने भनिएको छ।
यस्तो कार्यमा संलग्नलाई एक वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना वा दुबै सजाय हुने कानुनी व्यवस्था छ।










