Kathmandu Press

प्रधानमन्त्रीको सचिवालयले भन्यो– प्रधानमन्त्रीको अभिव्यक्तिलाई तोडमोड गरेर भ्रम फैलाइयो 

काठमाडौँ जिल्लाबाट प्रतिनिधित्व गर्ने महाधिवेशन प्रतिनिधिहरूसँग अनौपचारिक छलफलका सन्दर्भमा कतिपय अनलाइन सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा भ्रमपूर्ण र मनगढन्ते समाचारहरू प्रसारण भएको भन्दै प्रधानमन्त्रीको सचिवालयले आपत्ति जनाएको हो। 
प्रधानमन्त्रीको सचिवालयले भन्यो– प्रधानमन्त्रीको अभिव्यक्तिलाई तोडमोड गरेर भ्रम फैलाइयो 
फाइल तस्बिर।

काठमाडौं, भदौ १२ : प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको सचिवालयले हालै विद्यादेवी भण्डारीसँग जोडेर आएका समाचारहरुप्रति आपत्ति जनाएको छ। 

भदौ ११ गते राजधानीमा पार्टीको दोस्रो विधान महाधिवेशनको पूर्वसन्ध्यामा काठमाडौँ जिल्लाबाट प्रतिनिधित्व गर्ने महाधिवेशन प्रतिनिधिहरूसँग अनौपचारिक छलफल गरेका थिए।

उक्त कार्यक्रमका सन्दर्भमा कतिपय अनलाइन सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा भ्रमपूर्ण र मनगढन्ते समाचारहरू प्रसारण भएको भन्दै प्रधानमन्त्रीको स्वकीय सचिवालयले आपत्ति जनाएको हो। 

Hardik ivf

सचिवालयका अनुसार उक्त कार्यक्रम कुनै औपचारिक प्रशिक्षण वा निर्णयात्मक बैठक नभइ महाधिवेशन प्रतिनिधिसँग सामान्य भेटघाट र विचार आदानप्रदानको उद्देश्यले आयोजित गरिएको थियो।

कार्यक्रममा पार्टीको ऐतिहासिक पृष्ठभूमि, पछिल्लो समय लिइएको नीति, सरकारको कामकारवाही, तथा पार्टीको केन्द्रीय निर्णयहरूबारे अध्यक्ष ओलीले आफ्ना धारणा राखेका थिए।

भेटमा अध्यक्ष ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसम्बन्धी व्यक्त गरेको भनिएको एमालेमा मलाई धक्का दिन विद्याबाहेक कसैको दम छैन भन्ने अभिव्यक्ति असत्य, भ्रामक र उद्देश्यपूर्ण ढंगले सार्वजनिक गरिएको सचिवालयले स्पष्ट पारेको छ।

प्रधानमन्त्री ओलीले पूर्वराष्ट्रपति भण्डारीप्रति आफूले गरेको सम्मान र माया अरू कसैले नगरेको उल्लेख गर्दै उनको पछिल्लो गतिविधिप्रति आश्चर्य व्यक्त गरेका थिए।

पार्टीको औपचारिक प्रक्रिया नअपनाई मिडिया तथा अन्य दलका नेतासँग भेटघाट गर्दै सक्रिय राजनीतिमा फर्किन खोजिएको विषयले पार्टीमा भ्रम सिर्जना भएको ओलीको भनाइ रहेको सचिवालयले जनाएको छ।

प्रधानमन्त्रीको स्वकीय सचिवालयले उक्त भेटघाट कार्यक्रममा भएका विषयवस्तु यथार्थपरक रूपमा प्रस्तुत गर्न सञ्चारकर्मी, विश्लेषक र सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई आग्रह गरेको छ। सचिवालयले भ्रामक समाचारप्रति सचेत रहन पनि अनुरोध गरेको छ।
 

प्रकाशित मिति: १३:४९ बजे, बिहीबार, भदौ १२, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्