Kathmandu Press

सुदूरपश्चिममा गौरा पर्व सुरु, आज घरघरमा बिरुडा भिजाइँदै

तामाको भाँडोलाई गाईको गोबरले लिपेर दुबो, अक्षताले सिँगारी त्यसभित्र बिरुडा राखिन्छ । बिरुडालाई गौरीको प्रसादका रुपमा लिइन्छ । गौरादेवीको पूजामा बिरुडा प्रयोग गरिन्छ ।
सुदूरपश्चिममा गौरा पर्व सुरु, आज घरघरमा बिरुडा भिजाइँदै

काठमाडौं, भदौ १२ : सुदूरपश्चिम प्रदेशको मौलिक पर्व गौरा आजदेखि विधिवत् रुपमा प्रारम्भ भएको छ । पर्वको पहिलो दिन आज व्रतालु महिलाले बिरुडा (पाँच प्रकारका अन्न तथा गेडागुडी) भिजाएर गौराको सुरुवात गर्ने चलन छ । त्यसैले आजको दिनलाई बिरुडा पञ्चमी पनि भनिन्छ । 

तामाको भाँडोलाई गाईको गोबरले लिपेर दुबो, अक्षताले सिँगारी त्यसभित्र बिरुडा राखिन्छ । बिरुडालाई गौरीको प्रसादका रुपमा लिइन्छ । गौरादेवीको पूजामा बिरुडा प्रयोग गरिन्छ ।

पुत्रदा एकादशीको व्रत बसिसकेपछि भदौको बिरुडा पञ्चमीदेखि गौरा पर्व विधिवत् रुपमा सुरु हुने यसका जानकार खगेश्वरी साउदले बताए । “एक महिनाअघि देखि नै शुद्ध शाकाहार र बह्मचार्यको पालना गर्नुपर्छ,” उनले भने, “बिरुडा भिजाइँदा माङ्गलिक सगुन फाँग गाउँछौं ।” यो पर्वमा पुरुषको व्रतबन्ध गरेजस्तै महिलाले दुवधागो लगाउँछन् । 

“गौरा हाम्रो ठूलो पर्व हो पुरुषजस्तै नारीले पनि यज्ञोपवितका रुपमा दुवधागो लगाउने गछौँ,” उनले भने, “गौरामा व्रत बसी पूजाअर्चना गर्दा श्रीमान् तथा घरपरिवारका सदस्यहरु निरोगी, दीर्घायु, परिवारमा सुख समृद्धि हुने विश्वास छ ।” 

आजैदेखि ठाउँठाउँमा देउडा समेत खेलिने प्रचलन छ । प्राचीनकालदेखि नै पर्वतराज हिमालय र मेनकाकी पुत्रीका रुपमा भगवान् शिवकी अर्धाङ्गिनी पार्वतीलाई गौरा देवीका रुपमा पूजाअर्चना गर्ने चलन छ । 

प्रकाशित मिति: ०८:०१ बजे, बिहीबार, भदौ १२, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्