‘आफूलाई मूलधार ठान्नेहरु आज पनि जनयुद्धलाई आतंककारी भनेर पढाउन रमाउँछन्’
‘माओवादी आन्दोलनले ल्याएको परिवर्तनबारे लेख्दा प्रज्ञा प्रतिष्ठानले समेत यसलाई अछुत ठानेको संस्कार थियो। तर जनयुद्ध एउटा विचार हो, युगान्तकारी संस्कृति हो। यसमा मौलिक सौन्दर्य चेतना छ,’ उनले भने।-1756285200.jpeg)
काठमाडौं, भदौ ११ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले माओवादी जनयुद्धलाई अछुत ठान्ने प्रवृत्तिप्रति कडा असन्तुष्टि जनाएका छन्। उनले जनयुद्धको योगदानलाई विद्यालयदेखि विश्वविद्यालयसम्मको पाठ्यक्रममा समावेश गर्नुपर्ने बताएका छन्।
काठमाडौंमा आयोजित ‘संघर्षमा सिरानचोक’ पुस्तक लोकार्पण समारोहमा बोल्दै अध्यक्ष दाहालले माओवादी जनयुद्धलाई सकारात्मक रूपमा लिपिबद्ध गर्नुपर्नेमा जोड दिए।
‘माओवादी आन्दोलनले ल्याएको परिवर्तनबारे लेख्दा प्रज्ञा प्रतिष्ठानले समेत यसलाई अछुत ठानेको संस्कार थियो। तर जनयुद्ध एउटा विचार हो, युगान्तकारी संस्कृति हो। यसमा मौलिक सौन्दर्य चेतना छ,’ उनले भने।
उनले जनयुद्धलाई आंतककारीका रूपमा व्याख्या गरिने प्रवृत्तिप्रति चिन्ता व्यक्त गरे। ‘जो आफूलाई मूलधार ठान्छन्, उनीहरु आज पनि जनयुद्धलाई आतंककारी भनेर पढाउन रमाउँछन्,’ उनले भने, ‘देश सामन्ती राजतन्त्रबाट गणतन्त्रमा आइपुगेको छ भने त्यस परिवर्तनको प्रमुख वाहक जनयुद्धको इतिहासलाई पाठ्यक्रममा राख्नु हाम्रो साझा जिम्मेवारी हो।’
अध्यक्ष दाहालले देशभरका पालिकाहरूमा भएका संघर्ष, बलिदान र ऐतिहासिक घटनाहरूलाई दस्तावेजीकृत गर्न आग्रह गरे। ‘सिरानचोकजस्तै हरेक वडाका आफ्नै बेथा छन्, आफ्ना मर्म छन्,’ उनले भने, ‘यी मर्म र गाथालाई केन्द्रित गरेर संकलन गरियो भने ठूलो ऐतिहासिक सामग्री बन्न सक्छ।’
उनले पार्टी, विचारधारा वा संगठनभन्दा माथि उठेर देशको परिवर्तनका प्रक्रियालाई लिपिबद्ध गर्नुपर्नेमा जोड दिए।










