मितेरी ठगीका अभियुक्त भण्डारीसहित तीनजना जेल चलान
ललितपुर जिल्ला अदालतको आदेश अनुसार ज्योतिबहादुर भण्डारी र उनका सहयोगी भनिएका सुवास खत्रीलाई पुर्पक्षका लागि कारागार चलान गरिएको हो।
काठमाडौं, भदौ १० : मितेरी सहकारी ठगीका आरोपमा पक्राउ परेका दुई जना पुर्पक्षका लागि कारागार चलान भएका छन्।
ललितपुर जिल्ला अदालतको आदेश अनुसार ज्योतिबहादुर भण्डारी र उनका सहयोगी भनिएका सुवास खत्रीलाई पुर्पक्षका लागि कारागार चलान गरिएको हो।
अर्का आरोपी सुरेश अधिकारी भने सात लाख धरौटीमा रिहा भएका छन् । उनीहरुलाई कम्बोडियाबाट पक्राउ गरी अदालतमा हाजिर गराइएका थियो।
मुद्दामा प्रतिबादी बनाइएका मितेरी सहकारीकी तत्कालीन महाप्रबन्धक रहेकी ज्योति गुरुङ, सहकारीका अध्यक्ष ८१ वर्षीय कुम्भराज राई, खोटाङका विजयुकुमार राई, बाग्लुङका प्रितम अधिकारी र सिन्धुपाल्चोकका अर्जुन अराम भने फरार छन्।
गुरुङ नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङकी पूर्वपत्नी हुन्। उनीहरुविरुद्ध ठगी, लिखतसम्बन्धी कसुर, अभौतिक मुद्राको कसुर, राष्ट्र बैंक अन्तर्गतको कसुर, संगठित अपराधको कसुरमा मुद्दा दर्ता गरिएको छ।
सहकारीको १४ करोड २९ लाख २४ हजार सात सय ५४ रुपैयाँ ठगी गरेको अभियोगमा सोही अनुसारको बिगो मागदाबी गर्दै अदालतमा मुद्दा दायर भएको छ।
सहकारीको रकम तिर्ने भन्दै उल्टै रकम हाल्न लगाएर ३ करोड ४२ लाख ८२ हजार चार सय २० रुपैयाँ ठगी गरेको दाबीसहित उक्त रकम बराबरको बिगो भराउन समेत माग दाबी गरिएको छ ।










