भारत र चीनबीच भएको एकतर्फी सहमति वैध मान्न सकिँदैन् : रास्वपा
प्रधानमन्त्रीको आसन्न भारत तथा चीन भ्रमणका क्रममा सम्बन्धित नेतृत्वसँग लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रको प्रश्न स्पष्ट र दृढतापूर्वक प्रस्तुत गर्न रास्वपाले माग पनि गरेको छ।
काठमाडौं, भदौ १० : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नेपाली भूमि लिपुलेक नाका खोल्न भारत र चीनबीच भएको एकतर्फी सहमति वैध मान्न नसकिने बताएको छ।
मंगलबार अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनालले विज्ञप्ति जारी गर्दै यस विपरितका कार्यले आपसी सम्मान तथा शान्तिपूर्ण सहअस्तित्वका सिद्धान्त विपरित भएको मानिनेमा रास्वपा स्पष्ट रहेको बताएका छन्। उनले नेपालको प्रत्यक्षसहमति बिना भएका सहमति स्वीकार्न नसकिने विज्ञप्तिमा उल्लेख गरेका छन्।
‘राष्ट्रिय स्वतन्त्र पार्टी नेपालको राष्ट्रिय अखण्डता, सार्वभौमिकता र भौगोलिक स्वाधीनताको संरक्षणलाई सर्वोच्च दायित्व मान्दछ। नेपाली भू–भागमाथि अन्य देशहरूको कुनैपनि गतिविधि वा सम्झौता नेपालको प्रत्यक्ष सहभागिता र सहमति बिना वैध मान्न सकिँदैन,’ विज्ञप्तिमा भनिएको छ, ‘यस विपरितका कार्य हुन्छन् भने आपसी सम्मान तथा शान्तिपूर्ण सहअस्तित्वका सिद्धान्त विपरित भएको मानिनेछ भन्नेमा रास्वपा स्पष्ट छ।’
प्रधानमन्त्रीको आसन्न भारत तथा चीन भ्रमणका क्रममा सम्बन्धित नेतृत्वसँग लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रको प्रश्न स्पष्ट र दृढतापूर्वक प्रस्तुत गर्न रास्वपाले माग पनि गरेको छ।
साथै हालैको सम्झौतापछि सरकारले प्रस्तुत गरेको रवैयाप्रति रास्वपाको गम्भीर ध्यानाकर्षण भएको पनि बताएका छन्।
विवादहरूको समाधान सत्तापक्ष र प्रतिपक्ष नभई एकमतले कूटनीतिक, शान्तिपूर्ण तर प्रभावकारी माध्यमबाट खोजिनुपर्छ भन्ने अटल सिद्धान्तमा पार्टी प्रतिबद्ध रहेको जनाएका छन्।










