विकराल बन्दै वीरगन्जमा हैजा, ७१ जनामा संक्रमण पुष्टि
मन्त्रालयका अनुसार महानगरपालिकाको ११, १२, १३ र १६ वडाका १९४ जनामा झाडापखाला लागेर उपचार भइरहेको छ । विरामीमध्ये मध्ये २२ जनाको आइसीयू र ६ जनाको एचडीयूमा उपचार भईरहेको छ ।
काठमाडौँ, भदौ ९ : वीरगन्जमा ७१ जनामा हैजा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीरगन्ज महानगरपालिकामा फैलिएको हैजा संक्रमण ७१ जनामा पुष्टि भएको जनाएको हो ।
मन्त्रालयका अनुसार महानगरपालिकाको ११, १२, १३ र १६ वडाका १९४ जनामा झाडापखाला लागेर उपचार भइरहेको छ । विरामीमध्ये मध्ये २२ जनाको आइसीयू र ६ जनाको एचडीयूमा उपचार भईरहेको छ ।
मन्त्रालयले हैजा पहिचान भएका व्यक्तिहरूको दिसाको नमुना संकलन गरी २२ वटा नमुना प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, जनकपुरमा तथा १० वटा नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणलाई पठाएको जनाएको छ । हैजा फैलाउने स्रोत पहिचान गर्न ३ वटा पानीका स्रोतबाट नमूनाहरू संकलन गरी प्रयोगशालामा हैजा जीवाणु परीक्षणका लागि पठाइएकोे छ ।
वीरगन्जमा हैजा संक्रमणबाट ३ जनाको मृत्यु भइसकेको छ । मन्त्रालयले गर्मी तथा वर्षा याममा विशेष गरी झाडापखाला, हैजा तथा अन्य पानीजन्य रोगहरू फैलिने भएकाले सतर्क रहन आग्रह समेत गरेको छ ।