राज्य व्यवस्था समितिका सभापतिको निर्वाचन बुधबार, भोलि ४ बजेसम्म उम्मेदवारी दर्ताको समय
भदौ ११ गते बुधबार अपराह्न ३ बजे समितिको बैठकमा प्रस्तावकले प्रस्ताव प्रस्तुत गर्ने र समर्थकले सम्बन्धित प्रस्तावको समर्थन गर्ने र उक्त प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिने कार्यक्रम रहेको प्रतिनिधिसभा सचिव हर्कराज राईले बताए।
काठमाडौं, भदौ ९ : संघीय संसद् सचिवालयले राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिको निर्वाचन कार्यक्रम प्रकाशन गरेको छ।
सचिवलयले सूचना जारी गर्दै भदौ १० गते मंगललबार अपराह्न १ देखि ४ बजेसम्म समितिको कुनै सदस्यलाई समितिको सभापतिमा निर्वाचित गरियोस् भनी अर्को एक सदस्यको समर्थनसहित सचिवको कार्यकक्षमा प्रस्ताव दर्ता गर्न सकिने जनाएको छ।
भोलि अपराह्न ४ः१५ बजे निर्धारित समयभित्र दर्ता भएका प्रस्तावको सूची प्रकाशन गरिनेछ।
भदौ ११ गते बुधबार अपराह्न ३ बजे समितिको बैठकमा प्रस्तावकले प्रस्ताव प्रस्तुत गर्ने र समर्थकले सम्बन्धित प्रस्तावको समर्थन गर्ने र उक्त प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिने कार्यक्रम रहेको प्रतिनिधिसभा सचिव हर्कराज राईले बताए।
संघीय निजामती विधेयकमा ‘कुलिङ अफ पिरियड’ सम्बन्धी व्यवस्थामा समिति निर्णयभन्दा फरक राखिएको पाइएपछि समितिका तत्कालीन सभापति रामहरि खतिवडाले राजीनामा दिएका थिए। खतिवडाको राजीनामापछि समितिको नयाँ सभापति चयन प्रक्रिया अघि बढेको हो।
२७ सदस्यीय समितिमा कांग्रेसका ९, एमालेका ६ जना सदस्य छन् । एमाले र कांग्रेस मिल्दा मात्रै समितिमा दुई दलको सांसद संख्या १५ पुग्छ । यो सभापति निर्वाचनका लागि बहुमत हो । यस्तै सत्तामै रहेको लोसपा, जनमत पार्टी र जसपा १–१ सदस्य छन्।