Kathmandu Press

राष्ट्रपति पौडेल र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता

राष्ट्रपति भवन शीतल निवासमा भएको सो भेटमा राष्ट्रपति पौडेलले नेपाल र भियतनामबीच व्यापार, पर्यटन, लगानी र प्रविधि हस्तान्तरणका क्षेत्रमा द्विपक्षीय आर्थिक सम्बन्ध प्रगाढ बनाउने धेरै सम्भावना रहेको बताएका थिए।
राष्ट्रपति पौडेल र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता

काठमाडौं, भदौ ९ : राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपाल भ्रमणमा रहेकी समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति वो थि आन्ह सुआनले सोमबार शिष्टाचार भेट गरेकी छन्। 

राष्ट्रपति भवन शीतल निवासमा भएको सो भेटमा राष्ट्रपति पौडेलले नेपाल र भियतनामबीच व्यापार, पर्यटन, लगानी र प्रविधि हस्तान्तरणका क्षेत्रमा द्विपक्षीय आर्थिक सम्बन्ध प्रगाढ बनाउने धेरै सम्भावना रहेको बताएका थिए।

Hardik ivf

‘यसका लागि द्विपक्षीय सहकार्यलाई तीव्रता दिन नेपाल सरकार इच्छुक छ’, भेटवार्तामा राष्ट्रपति पौडेलको भनाई उद्यृत गर्दै राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।  

नेपाल अहिले कृषि, पर्यटन, उत्पादन तथा जलविद्युत जस्ता क्षेत्रहरुमा लगानीमार्फत आर्थिक सामाजिक रूपान्तरणमा केन्द्रित रहेको राष्ट्रपति पौडेलले बताएका थिए । उनले भियतनामले आफ्नो अर्थतन्त्रलाई विश्वकै गतिशील अर्थतन्त्रको रूपमा विकास गर्न सक्षम भएकोमा खुशी व्यक्त गरेका थिए। 

उनले विशेषतः बौद्ध धर्म हाम्रा दुवै देशका जनताबीचको गहिरो सम्बन्धका लागि सेतुको रूपमा रहेको बताउँदै लुम्बिनीलाई धेरै भियतनामीले आफ्नो जीवनमा एकपल्ट अवश्य दर्शन गर्नुपर्ने पवित्र स्थलका रूपमा हेर्नु खुशीको विषय भएको पनि बताएका थिए। 

सो अवसरमा भियतनामका उपराष्ट्रपति वो थि आन्ह सुआनले नेपालले सन २०३० सम्ममा मध्यमस्तरको आय भएको देश हुने प्रयत्न गरेको तथा भियतनामले सन २०४५ सम्ममा उच्च आय भएको मुलुक बन्ने प्रयत्न गरेको सन्दर्भमा सन् २०३० भन्दा अघि नै दुई देश बीच वृहत सम्बन्धको फ्रेम वर्क बनाउन जरुरी भएको उल्लेख  गरेकी थिइन्।

उपराष्ट्रपति सुआनले संस्कृति, खेलकुद र पर्यटनका क्षेत्रमा दुवै देश बिच सहकार्य गर्न आवश्यक रहेको बताएकी थिइन्।

उनले अन्तर्राष्टिय क्षेत्रमा नेपालले शान्ति कायम गर्न देखाएको अग्रसरता र जलवायु परिवर्तनको असरका सम्बन्धमा गरेको प्रतिबद्धताबाट आफू प्रभावित भएको बताइन्।
 

प्रकाशित मिति: १२:५३ बजे, सोमबार, भदौ ९, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्