प्राविधिक जनशक्ति थपेर भए पनि बजेट कार्यान्वयन गर्न मन्त्री पाण्डेको निर्देशन
‘प्राविधिक जनशक्ति थपेरै भए पनि बजेट कार्यान्वयनमा ध्यान दिनुपर्छ। भौतिक र वित्तीय प्रगतिमा असन्तुलन देखिँदा योजनाको यथार्थ विवरण आउन सकिरहेको छैन, त्यसैले कार्यान्वयन गर्न नसकिने योजना सुरु मै छोड्न सक्नुपर्छ,’ उनले भने।-(24)-1756033097.jpeg)
काठमाडौं, भदौ ८ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले प्राविधिक जनशक्ति थप गरेरै भए पनि चालु आर्थिक वर्षको बजेट कार्यान्वयनमा पूर्ण ध्यान दिन मन्त्रालय र मातहतका निकायलाई निर्देशन दिएका छन्।
आइतबार मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति र आर्थिक वर्ष २०८१/८२ को प्रगति समीक्षा बैठकलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले योजनाहरू अधुरै नछाड्ने गरी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका हुन्।
‘प्राविधिक जनशक्ति थपेरै भए पनि बजेट कार्यान्वयनमा ध्यान दिनुपर्छ। भौतिक र वित्तीय प्रगतिमा असन्तुलन देखिँदा योजनाको यथार्थ विवरण आउन सकिरहेको छैन, त्यसैले कार्यान्वयन गर्न नसकिने योजना सुरु मै छोड्न सक्नुपर्छ,’ उनले भने।
मन्त्री पाण्डेले मन्त्रालयले मेहनतपूर्वक तयार पारेका योजनाहरूलाई व्यवहारमा उतार्न तीनै तहबीच मजबुत समन्वय आवश्यक रहेको प्रष्ट पारे।
उनले मातहतका महाशाखाहरुलाई सेवाग्राहीका फाइल अल्झन नदिने र सक्रिय भएर काम गर्ने निर्देशन दिए। प्रभावकारी रूपमा काम नगर्ने कर्मचारीलाई अन्यत्र जान सुझाव दिन समेत उनले स्पष्ट पारे।
समीक्षाका क्रममा मन्त्री पाण्डेले नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) र नेपाल माउन्टेन एकेडेमीको कामको स्वरूप भिन्न भएकाले ती संस्थालाई मर्ज गर्ने सम्भावना नरहेको पनि बताए।
बैठकमा मन्त्रालय तथा सम्बन्धित निकायको बजेट र खर्चको स्थिति, सोह्रौँ योजना एवम् वार्षिक कार्यसम्पादन सूचक, राष्ट्रिय गौरवका आयोजना, अन्य योजनाहरूको प्रगति, गुनासो तथा बेरुजु, नीति तथा कार्यक्रम र बजेट वक्तव्य कार्यान्वयनको अवस्था, प्रमुख उपलब्धी र विद्यमान समस्या सम्बन्धी प्रतिवेदन प्रस्तुत गरिएको थियो।
कार्यक्रममा प्रधानमन्त्री कार्यालय, अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोगका सचिव तथा सदस्यहरूसहित उच्च पदाधिकारीहरूको उपस्थिती थियो।










