Kathmandu Press

एमसीसीले नेपालको सार्वभौमसत्ता र भू–राजनीतिक सन्तुलनमा गम्भीर असर गर्छ : झलनाथ खनाल

खनालले एमसीसी सम्झौता अमेरिकाको दक्षिण एसिया रणनीतिअन्तर्गत तयार पारिएको उल्लेख गर्दै यसले नेपालका छिमेकी मुलुकहरु-चीन र भारतसँगको सम्बन्धमा दीर्घकालिन असर पार्न सक्ने चेतावनी दिए।
एमसीसीले नेपालको सार्वभौमसत्ता र भू–राजनीतिक सन्तुलनमा गम्भीर असर गर्छ : झलनाथ खनाल

काठमाडौं, भदौ ८ : नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता नेपालको राष्ट्रिय हित, संविधान र भू–राजनीतिक सन्तुलनविरुद्ध भएको दाबी गरेका छन्। 

काठमाडौंमा आयोजित दोस्रो काठमाडौं संवाद शृंखलामा बोल्दै उनले एमसीसी सम्झौताको प्रक्रिया र मर्मप्रति गहिरो असन्तोष व्यक्त गर्दै यसलाई राष्ट्रिय घात र शर्मनाक नाटकको संज्ञा दिए।

खनालले एमसीसी सम्झौता अमेरिकाको दक्षिण एसिया रणनीतिअन्तर्गत तयार पारिएको उल्लेख गर्दै यसले नेपालका छिमेकी मुलुकहरु-चीन र भारतसँगको सम्बन्धमा दीर्घकालिन असर पार्न सक्ने चेतावनी दिए।

Hardik ivf

उनले सम्झौताप्रति सर्वसाधारण, बुद्धिजीवी, विद्यार्थी र देशभक्त युवाहरुले तीव्र विरोध जनाउँदा समेत प्रमुख राजनीतिक दलहरुले जनमत बेवास्ता गर्दै संसदबाट जबर्जस्ती अनुमोदन गराएको आरोप लगाए।

‘संसदमा हुलहुज्जत, नाराबाजी र कोलाहलबीच कुनै सुनुवाइ नभएको अवस्थामा एमसीसी पारित भयो,’ खनालले भने, ‘यो नेपालको लोकतान्त्रिक इतिहासमा एउटा कालो पानाको रूपमा रहनेछ।’
खनालले सम्झौतामा नेपाल सरकारलाई कार्यान्वयन प्रक्रियाबाट पूर्णरूपमा अलग राखिएको, एमसीसी र एमसीए नेपाललाई अत्यधिक अधिकार दिइएको र यी निकायहरुले नेपाल सरकारभन्दा माथि रहने व्यवस्थाले संविधानको उल्लंघन गरेको बताए।

‘नेपालको कार्यपालिका अधिकारलाई विदेशी सम्झौतामार्फत संकुचित पार्नु संविधानको धज्जी उडाउनु हो,’ उनले भने।

उनले एमसीसी अन्तर्गतको परियोजनाले भारतलाई नेपालको विद्युत बजारमा एकाधिकार दिन खोजेको र यसले चीनसँग भविष्यमा बन्ने सम्भावित रेलमार्ग योजना समेत प्रभावित पार्न सक्ने सम्भावना रहेको बताए।

‘एमसीसीले उपयोग गर्ने जमिनमा अर्को पूर्वाधार बन्न नपाउने शर्त किन? के यो चीन–नेपाल रेलमार्ग अवरुद्ध गर्न हो?,’ उनले प्रश्न गर्दै भने।

नेता खनालले अमेरिकी नीतिको अस्थिरता र नेपालप्रतिको अस्वाभाविक चासोलाई पनि शंकास्पद माने।

‘एमसीसी अन्य देशमा रोकिएको बेला नेपालमा मात्र पुनः सुरू गरिनु के सन्देश दिन खोजिएको हो?’ उनले अमेरिका र नेपालको सम्बन्धलाई सन्तुलित, पारदर्शी र नेपाल केन्द्रित राख्न आग्रह गरे।
 

प्रकाशित मिति: १४:४१ बजे, आइतबार, भदौ ८, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्