एमाले पछाडि परेको भए हामी कान समातेर उठबस गर्छौं : डा.भट्टराई
‘विचार, नारा र कार्यक्रमले मात्र भनिरहेका छैनौँ, एमाले काम गर्ने पार्टी हो भनेर व्यवहारमा नै प्रमाणित गरेर देखाएका छौँ’, उनले भने।
रामेछाप, भदौ ७ : नेकपा एमाले स्थायी कमिटी सदस्य एवं वागमती प्रदेश इञ्चार्ज डा.राजन भट्टराईले नेकपा एमाले देशको विकास, समृद्धि र राष्ट्र हितको पक्षमा उभिने पार्टी भएको बताएका छन्।
नेकपा एमाले रामेछापको पाँचौँ पूर्ण बैठकलाई शुक्रबार मन्थलीमा सम्बोधन गर्दै भट्टराईले विकास र राष्ट्रियताको अगुवाइ गर्ने पार्टी नेकपा एमाले नै भएको बताए।
भट्टराईले एमाले सरकारमा हुँदा र अरू सरकारमा हुँदा गरेको काम तुलना गरेर हेर्न चुनौती दिए। ‘हामी कुनै क्षेत्रमा पछाडि परेका रहेछौँ भने कान समातेर उठबस गर्न तयार छौँ’, उनले भने।
भट्टराईले पार्टीले गरेको राम्रो कामको चर्चा पार्टीका नेता कार्यकर्ताले गर्न नसकेका भन्दै असन्तुष्टि व्यक्त गरे। ‘विचार, नारा र कार्यक्रमले मात्र भनिरहेका छैनौँ, एमाले काम गर्ने पार्टी हो भनेर व्यवहारमा नै प्रमाणित गरेर देखाएका छौँ’, उनले भने।
नेपाललाई जानकारी नदिइ भारत र चीन बिच लिपुलेक नाका सञ्चालन गर्ने विषयमा भएको सहमति एमालेलाई स्वीकार्य नभएको उनले बताए। केपी ओली नेतृत्वको वर्तमान सरकारले सो विषयमा जानकारी आउने बित्तिकै आपत्ति जनाएको उनले स्मरण गराए।
पार्टी जिल्ला कमिटी अध्यक्ष पुरुषोत्तम कडरियाको अध्यक्षता सुरु भएको बैठक २ दिनसम्म चल्ने पार्टी जिल्ला कमिटी सचिव प्रकाशकुमार कार्कीले जानकारी दि ।
बैठकमा वार्षिक आयव्यय विवरण, वार्षिक कार्ययोजना, जरा अभियानको रिपोर्ट, विधान संशोधन लगायतका विषयमा छलफल गरी निर्णय हुने पार्टी जिल्ला कमिटी अध्यक्ष कडरियाले जानकारी दिए।
त्यस्तै जिल्ला पार्टीमा विभागको पूर्णता, प्रदेश क्षेत्रीय समन्वय कमिटी पूर्णता, जिल्ला सल्लाकार परिषद् गठन, सचिवालय गठन लगायतका विषयमा पनि निर्णय हुने उनले बताए।












