महिला प्रहरीबाट सुरक्षा लिन गृहमन्त्री र प्रहरी महानिरिक्षकलाई न्यायाधीश मल्लको सुझाव
न्यायाधीश मल्लले भीभीआईपी र भीआईपीको सुरक्षामा महिला प्रहरी खटाइनुपर्ने पनि बताइन्।
काठमाडौँ, भदौ ५ : सर्वोच्च अदालतकी वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लले गृहमन्त्री र प्रहरी महानिरीक्षकलाई महिला प्रहरीबाट सुरक्षा लिन सुझाएकी छन्।
बिहीवार नेपाल प्रहरीले आयोजना गरेको पहिलो महिला प्रहरी सम्मेलनमा न्यायाधीश मल्लले यस्तो सुझाव दिएकी हुन् । न्यायाधीश मल्लले भीभीआईपी र भीआईपीको सुरक्षामा महिला प्रहरी खटाइनुपर्ने पनि बताइन्।
महिलाहरु सुरक्षा दिन सक्षम रहेको भनेर उदाहरण बनिदिन न्यायाधीश मल्लको आग्रह थियो । मल्लले यस्तो आग्रह गर्दा गृहमन्त्री रमेश लेखक र प्रहरी महानिरीक्षक दीपक थापा पनि मञ्चमा सँगै रहेका थिए।
‘म यो प्रहरी सम्मेलनमा के निवेदन गर्न चाहन्छु भने मेरो सुरक्षामा त महिला पनि हुनुहुन्छ। अब यदि महिलाले सुरक्षा लिने वर्ग होइन, दिने वर्ग पनि हो भने भीभीआईपी र भिआईपीको सुरक्षामा विशेष गरेर आईजीपी र गृहमन्त्रीहरुले महिलाबाट सुरक्षा लिनुस्। तपाईंहरु उदाहरण बनिदिनुस्,’ उनले भनिन्।
न्यायाधीश प्रधानले प्रहरीमा पनि महिला आइजिपी भएको हेर्ने चाहना रहेको प्रसङ्ग पनि सुनाइन्।
‘महिलाको क्षमता नहेरी लिंगका आधारमा केही गर्न सक्दैनन् भन्ने अनुमान त्याग्नुपर्ने आवस्यकता छ,’ उनले भनिन्, ‘पछिल्लो समय महिलाहरु धेरै क्षेत्रमा अगाडि बढिरहेका छन् । शून्यबाट १२ प्रतिशतसम्म महिलाको सहभागिता प्रहरी र न्याय क्षेत्रमा पुगेको छ।’










