लिपुलेकमा चीन–भारतको सहमतिमा गगनको आपत्ति, भने– दुई छिमेकीको व्यवहारप्रतिकांग्रेसको गम्भीर असहमति छ
‘हाम्रा दुई छिमेकी भारत र चीनले हाम्रो भूमिका बारेमा हाम्रो अनुपस्थितिमा एउटा सम्झौता गरेको हामीहरुले पढ्यौँ, सुन्यौँ, जान्यौँ,’ उनले भने, ‘नेपाली कांग्रेस पार्टी हाम्रा यी दुई छिमेकीले गरेको व्यहारप्रति गम्भीर असहमति प्रकट गर्दछ। यो आपत्तिजनक छ । अस्वीकार्य छ।’
काठमाडौँ, भदौ ५ : नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद गगन थापाले भारत र चीनले लिपुलेक प्रकरणमा नेपाललाई बेवास्ता गरेको बताउँदै विहीबार संसदमा गंभिर आपत्ति प्रकट गरे।
बिहीबारको प्रतिनिधिसभा बैठकमा उनले भारत र चीनले गरेको सहमतिप्रति आफ्नो पार्टीको गम्भीर असहमति रहेको बताए। उनले उक्त कदम अस्वीकार्य रहेको भनाई पनि राखे।
‘हाम्रा दुई छिमेकी भारत र चीनले हाम्रो भूमिका बारेमा हाम्रो अनुपस्थितिमा एउटा सम्झौता गरेको हामीहरुले पढ्यौँ, सुन्यौँ, जान्यौँ,’ उनले भने, ‘नेपाली कांग्रेस पार्टी हाम्रा यी दुई छिमेकीले गरेको व्यहारप्रति गम्भीर असहमति प्रकट गर्दछ। यो आपत्तिजनक छ । अस्वीकार्य छ।’
भारतर चीनबीच नेपालको सहमतिबिना यही भदौ ३ गते लिपुलेक नाकालाई दुई देशको आपसी व्यापारिक प्रयोजनको लागि सञ्चालन गर्ने सहमतीपत्रका हस्ताक्षर भएको थियो।
थापाले नेपाली भूमि लिपुलेकबारे भारत र चीनले गरेको सम्झौतामा सरकारले अघि बढाएको पहलकदमीमा सबैलाई समेटेर अघि बढ्न समेत आग्रह गरेका छन्।
‘यो विषयमा पहिले पनि सबै राजनीतिक दल एक ठाउँमा उभिएको र अहिले पनि उभिनुपर्छ,’ उनले भने । थापाले यसलाई कसैले पनि घरेलु राजनीतिको विषय बनाउन नहुने पनि बताए।
‘यो विषयमा नेपालका सबै राजनीतिक दलहरू एक ठाउँमा आएर उभिनुपर्छ, हिजो पनि उभियौँ । आज पनि हामी उभिनुपर्ने छ,’ उनले भने। आपसी मतमतान्तर रहे पनि यने विषयलाई कसैले पनि घरेलु राजनीतिको विषय बनाउन नहुने उनले बताए।
सबै राजनीतिक दललाई एकै ठाउँमा उभिन आग्रह गर्दै उनले अघि भने, ‘दुवै देशलाई आफ्नो भूमिमाथि आँखा लगाउने कुरा स्वीकार्य नहुने सन्देश दिनुपर्छ । यो विषयमा भारत र चीन दुइवटैलाई नेपालका राजनीतिक दलहरुले एक ढिक्का भएर एउटै सन्देश दिनुपर्ने छ –हाम्रो भूमिमाथि आँखा लगाउने कुरा हामी कसैलाई पनि स्वीकार्य छैन।’











