Kathmandu Press

भारत–चीनको लिपुलेक सहमतिकाे संसद्‌मा विरोध

‘लिपुलेक, लिम्पियाधुरा, कालापानी हाम्रो भूमि हो, त्यसमार्फत सीमा व्यापार गर्ने जे सम्झौता भयो। एमाले यसको विरोध गर्दछ । हामी गम्भीर असहमति यो सदनमार्फत राख्न चाहन्छौं,’ उनले भने।
भारत–चीनको लिपुलेक सहमतिकाे संसद्‌मा विरोध

काठमाडौं, भदौ ५ : लिपुलेक नाकाबाट व्यापार सञ्चालन गर्ने गरी भारत र चीनबीच भएको सहमतिप्रति बिहीबारको संसद बैठकमा सांसदहरुले विरोध गरेका छन्। 

बिहीबारको बैठमा आकस्मिक समयमा बोल्दै नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले नेपालको भूमिमा नेपाललाई जानकारी नै नदिई गरिएको सम्झौता गलत भएको बताए। 

‘लिपुलेक, लिम्पियाधुरा, कालापानी हाम्रो भूमि हो, त्यसमार्फत सीमा व्यापार गर्ने जे सम्झौता भयो। एमाले यसको विरोध गर्दछ । हामी गम्भीर असहमति यो सदनमार्फत राख्न चाहन्छौं,’ उनले भने।

सांसद बर्तौलाले देश सानो ठूलो हुन सक्ने भन्दै सार्वभौमिकता आकारका आधारमा सानो ठूलो नहुने बताए । कसैले हाम्रो सार्वभौमिकतामा थिचोमिचो गर्छ भने हामी प्रतिवाद गर्ने उनले बताए।

यस्तै, प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले पनि सम्झौताप्रति विरोध जनाए। उनले दुई छिमेकीले नेपाल आमालाई आघात पुर्याएको बताए।

‘आज नेपाल आमा दुःखी छन्। हाम्रा दुई छिमेकी भारत र चीनले नेपाललाई जानकारीसमेत नदिई नेपालको भूमि प्रयोग गर्ने सम्झौता गरेका भनिएको छ, यो सहमतिप्रति हामी आपत्ति प्रकट गर्दैछौँ, विरोध गर्दछौं,’ उनले भने।

उनले माओवादी केन्द्रले विगतमा पनि आवाज उठाएको भन्दै अहिले पनि त्यही अवस्थामा उभिने बताए। सरकारले भने कडा र बलियो कूटनीतिक कदम चाल्नुपर्ने उनले बताए।

प्रकाशित मिति: १४:११ बजे, बिहीबार, भदौ ५, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्