नेपालकै पहिलो नवग्रह मन्दिर दर्शनका लागि जन्मथलो पुगे कांग्रेस उपसभापति गुरुङ

काठमाडौं, भदौ ५ : नेपाली कांग्रेसका उपसभापति एवं प्रतिनिधिसभा सदस्य धनराज गुरुङले नेपालकै पहिलो नवग्रह मन्दिरको दर्शन गरेका छन् । आफ्नै जन्मभूमी स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा रहेको नेपालकै पहिलो नवग्रह मन्दिरको दर्शनका साथै पुजाआजा गरेका हुन् ।
स्याङ्जा जन्मघर आएका गुरुङले अर्जुनचौपारी गाउँपालिका –१ जलबराह धार्मिक वनमा बनेको नवग्रह मन्दिरमा पूजा गर्दै मन्दिरसँगै रहेको षट्कोण शिवालयमा पञ्चमुखी शिवलिङ्ग, गणेश, कुलदेवता, लक्ष्मी, कालभैरव, हनुमानलगायतका मूर्तिमा पूजा गर्दै उनले बाल्यकालको सम्झना स्मरण भएको बताए ।

उनले पञ्चकन्या मन्दिरमा दर्शन गरे र नवग्रहको पहिलो चक्र परिक्रमा गर्दै बाहिर निस्किए । उनले स्थानीय श्रमदान र गाउँपालिका अध्यक्ष प्रकाश तिवारीको नेतृत्वमा यत्रो ठूलो धार्मिक संरचना बनेकोमा गर्व व्यक्त गर्दै धन्यवाद ज्ञापन गरे ।
१५७ रोपनी क्षेत्रफलमा फैलिएको यस धार्मिक वनमा नवभूज आकारको आकाश तर्फ फर्केको २७ फिट अग्लो नवग्रह मन्दिर बनाइएको छ ।












