विवेकलाई बन्दी नबनाऔं, सांसद आफैंमा सार्वभौम हो : सांसद परियार
‘उहाँले जति सम्मान पाउनुभएको छ तपाईँहरू जति उफ्रे पनि त्यति माथि पुग्न सक्नुहुन्न,’ उनले भने, ‘विवेकलाई बन्दी नबनाऔँ सांसद आफैँमा सार्वभौम हो। सांसदको विवेकलाई हस्ताक्षरमा परिणत गरेर राजनीतिक स्वार्थ पूर्ति गर्ने मुद्दा नबनाऔँ।’
काठमाडौं, भदौ ४ : उपसभामुख इन्दिरा राना मगरलाई हटाउने प्रक्रिया कांग्रेस र एमालेले अघि बढाएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले आपत्ति जनाउको छ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा आकस्मिक समयमा बोल्दै रास्वपा प्रमुख सचेतक सन्तोष परियारले सांसद आफैंमा सार्वभौम भएको बताउँदै विकेकलाई बन्दी नबाउन सत्तापक्षलाई आग्रह गरे।
‘उहाँले जति सम्मान पाउनुभएको छ तपाईँहरू जति उफ्रे पनि त्यति माथि पुग्न सक्नुहुन्न,’ उनले भने, ‘विवेकलाई बन्दी नबनाऔँ सांसद आफैँमा सार्वभौम हो। सांसदको विवेकलाई हस्ताक्षरमा परिणत गरेर राजनीतिक स्वार्थ पूर्ति गर्ने मुद्दा नबनाऔँ।’
यस्तै उनले परियारले बालुवाटार र बूढानीलकण्ठको बैठकबाट उपसभामुख इन्दिरा रानामाथि बारम्बार आक्रमण भइरहेको बताए। उनले भने, ‘उपसभामुख पदको अवमूल्यन भइरहेको छ । बालुवाटार र बूढानीलकण्ठको बैठकबाट बारम्बार उपसभामुखमाथि आक्रमण भएको छ।’
उनले नयाँहरूलाई निषेध गर्न खोजेको आरोप लगाए। उनले आफूहरूलाई कमजोर बनाउने खोजिए पनि निषेध गर्न कुनै हालतमा सक्ने बताए। उनले सदनमाथि बारम्बार भइरहेको आक्रमण टुलुटुलु हेरेर बस्न नसक्ने चेतावनी दिए।
सांसद परियारले लोकतन्त्रको नाममा राजनीति गर्ने दलहरुलाई ऐतिहासिक नेताहरुको सम्झना गराउँदै सचेत रहन आग्रह गरे।
‘लोकतन्त्रको विरासत धानेका भन्नेहरुले सम्मानित सदनको, सार्वभौम सदनको उपसभामुख जस्तो जिम्मेवार पदलाई जुन तहमा अवमूल्यन गरिएको छ, यो लोकतन्त्रकै लागि ठूलो खतरा हो भनेर हाम्रो पार्टीको ठम्याइ छ,’ उनले भने।
परियारले नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरुलाई क्रमशः वीपी कोइराला र मदन भण्डारीको योगदान सम्झन पनि आग्रह गरे।
‘लोकतन्त्र बचाउन हार्न तयार हुने वीपीलाई सम्झनुहोस्,’ उनले कांग्रेस नेताहरुतर्फ इंगित गर्दै भने, ‘सामन्तवादविरुद्ध आवाज उठाउने कमरेड मदन भण्डारीलाई सम्झनुहोस्, एमाले नेताहरु । पार्टीभित्र हावी हुने सामन्तवादले पनि हामीलाई उभो लाग्न दिँदैन भन्ने चेत राख्नुहोस्।’











